मकवानपुरका पालिका अनुसार गरिबीको प्रतिशत । इन्फोग्राफः पालिका प्रेस

मकवानपुरमा १ लाख ८ हजार ३८३ जना गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ पुसमा सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान– ०८२’ को प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको हो । प्रतिवेदनमा देशभरका ७५३ वटै पालिकाको गरिबी दर समेत सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार मकवानपुरको १० स्थानीय तहमध्ये राक्सिराङ गाउँपालिकामा २०७८ सालको जनगणना अनुसारको तथ्याङ्क अनुसार २६ हजार ९९६ जनसंख्या रहेकोमा १७ हजार ६३ अर्थात ६५.६४ प्रतिशत नागरिक गरिब छन् । यो तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढि गरिब रहेको पालिका राक्सिराङ भएको छ । राक्सिराङ देशकै सबैभन्दा बढि गरिब हुने पालिका मध्ये छैठौं स्थानमा पनि परेको छ ।

त्यसैगरी मकवानपुरमा सबैभन्दा कम गरिब भएको पासिलका हेटौंडा उपमहानगरपालिका हो । हेटौंडाको कुल जनसंख्या १ लाख ९३ हजार ५७५ मध्ये १४ हजार ९१० अर्थात ७.७ प्रतिशत नागरिक मात्र गरिब छन् ।

१० वटा स्थानीय तह मध्ये मकवानपुरमा ८ वटा गाउँपालिका छन् । यि मध्ये सबैभन्दा कम गरिब भएको पालिका भिमफेदी रहेको छ । भिमफेदीले अरु सात वटा गाउँपालिका मध्ये आफूलाई सुधारिएको तथ्याङ्कमा देखाउँदै २१ हजार ५१६ जनसंख्या मध्ये ५ हजार ३८१ अर्थात २५.०१ प्रतिशत मात्र गरिब रहेको पालिकाको स्थानमा आफूलाई कायम गरेको छ । भिमफेदी जिल्लाकै कम गरिब भएको पालिका मध्ये तेस्रो स्थानमा छ । दोस्रोमा थाहा नगरपालिका रहेको छ । थाहा नगरपालिकामा कुल ३८ हजार ८७० मध्ये ९ हजार ६२० अर्थात २४.७५ प्रतिशत नागरिक गरिब छन् ।

मकवानपुरका पालिकाहरुको गरिबीको ग्राफ । इन्फोग्राफः पालिका प्रेस

बागमती गाउँपालिकामा ३० हजार ४२५ मध्ये १४ हजार ५७२ अर्थात ४७.९ प्रतिशत मानिस गरिब छन् । जिल्लाकै सबैभन्दा सानो गाउँपालिका इन्द्रसरोवर पनि गरिबीको तथ्याङ्कमा दुर्गम कैलाश गाउँपालिकालाई पनि टपेको छ । इन्द्रसरोवरमा १३ हजार ५३४ जनसंख्य मध्ये ५ हजार ७४४ अर्थात ४२.४४ प्रतिशत व्यक्ति गरिब छन् । कैलाशमा २१ हजार ८५६ जनसंख्या मध्ये ८ हजार ८४३ अर्थात ४०.४६ प्रतिशत नागरिक गरिब छन् । मकवानपुरगढी गाउँपालिकामा २४ हजार ४६१ नागरिक मध्ये ७ हजार ४४२ जना गरिब छन् । बकैयामा ४० हजार ९०७ मध्ये १२ हजार ३५२ अर्थात ३०.२० प्रतिशत नागरिक गरिब छन् ।

थाहा नगरपालिकामा पनि बढि जनसंख्या रहेको मनहरी गाउँपालिकामा पनि २६.३१ प्रतिशत व्यक्ति गरिब छन् । कुल ४७ हजार ३५३ जनसंख्या मध्ये १२ हजार ४५७ नागरिक गरिब छन् ।

मकवानपुरको पालिका अनुसार विभाजन गरिएको नक्सा ।

राष्ट्रिय तथ्याङ्क कार्यालले वि.सं. २०७८ को जनगणना अनुसार ४ लाख ५८ हजार ४९३ जनसंख्या रहेको मकवानपुरमा २३.४६ प्रतिशत जनसंख्या गरिब रहेको तथ्याङ्क २५ पुसमा सार्वजसिनक गरेको छ । मकवानपुर बागमती प्रदेशकै तेस्रो उच्च गरिब भएको जिल्लाको रुपमा रहेको तथ्याङ्कले देखाएको छ । मकवानपुरभन्दा दोस्रो बढि गरिब भएको जिल्ला रामेछाप रहेको छ । रामेछापमा २५.०७ प्रतिशत गरिब छन् भने सबैभन्दा बढि गरिब भएको जिल्ला सिन्धुली रहेको छ । सिन्धुलीमा ३४.०२ प्रतिशत गरिब छन् । प्रदेशमै सबैभन्दा कम काठमाण्डौं जिल्लामा ८.३३ प्रतिशत गरिब छन् ।

तथ्याङ्क अनुसार अझै देशभर साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेका छन् । ‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०’ ले देशको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखाएको हो । यद्यपि राष्ट्रिय तथ्याङ्कलाई उछिन्दै मकवानपुरमा २३.४६ प्रतिशत गरिब छन् । नेपालमा गरिबी न्यूनीकरणको अवस्था यति निराशाजनक देखिएको छ कि पछिल्लो १४ वर्षमा गरिबी ५ प्रतिशत विन्दुले मात्रै घटेको छ । ०६६/६७ मा सार्वजनिक जीवनस्तर सर्वेक्षणले नेपालको गरिबी २५.१६ प्रतिशत रहेको देखाएको थियो । अर्थात्, यो डेढ दशकमा गरिबीको दर जम्मा ५.१३ प्रतिशत विन्दुले मात्रै घटेको देखिन्छ ।

गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार नौ सय आठ रुपैयाँभन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबअन्तर्गत वर्गीकरण गरिएको छ । तेस्रो सर्वेक्षणका वेला गरिबीको रेखा प्रतिवर्ष प्रतिव्यक्ति खर्च १९ हजार दुई सय ६१ रुपैयाँ (हालको मूल्यमा ४२ हजार आठ सय ४५ रुपैयाँ) रहेको थियो ।

पालिका प्रेस
थप जानकारी