मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले पास गरेको छ । ३० पुसमा थाहा नगरपालिकामा भएको सभामा आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझीले पेश गरेको संशोधित बजेट तथा कार्यक्रम समेत सभाको बहुमत सदस्यले पास गरेका छन् ।

थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीको अध्यक्षतामा भएको भएको अधिवेशनले आर्थिक ऐन, २०८२, विनियोजन ऐन, २०८२ संशोधन गरेको छ भने थाहानगर खानेपानी व्यवस्थापन बोर्ड ऐन, २०७६ को पहिलो संशोधन प्रस्ताव पास गरेको छ । सामाजिक विकास समिति संयोजक बोर्ड ऐन, २०७६ को पहिलो संशोधन प्रस्ताव बहुमतले पास भएको छ । ऐनमा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी केही व्यवस्थालाई संशोधन गरिएको छ ।

सभाको कार्यसूची अनुसार लेखा समिति संयोजक बम बहादुर सिन्तानले पेश गरेको थाहा नगरपालिकाले आफ्नै नम्र्स तथा स्थानीय दररेट तयार गरी सोहि बमोजिम लागु गर्ने प्रतिद्धता सहित गरेको प्रस्ताव पनि १९औं अधिवेशनले पास गरेको छ । सो क्रममा संयोजक सिन्तानले लेखापरीक्षण प्रतिवेदन, २०८०÷०८१ मा उपभोक्ता समितिले सडक ढलान गर्दा डोलिडारको नम्र्स प्रयोग भएको र ढलान रकममा वैज्ञानिकता नदेखिएकोले सम्बन्धी बेरुजु नियमित ठहर गर्र्दै महालेखा परीक्षक कार्यालयमा लगत कट्टा गरिदिनुहुन अनुरोध गर्ने प्रस्ताव समेत बहुमतले पारित गरेको छ ।

नगर सभाको १९औं अधिवेशनले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म नगरकार्यपालिका, विषयगत समितिहरु, नगर प्रमुखस्तरीय, उपप्रमुख स्तरीय, प्रमुख प्रशासकीय अधिकृतस्तरीय, वडा समितिस्तरीय तथा शाखाहरु मार्फत भएका निर्णयहरुको पनि अनुमोदन गरेको छ ।

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेट ९७ करोड ७० लाख रकममध्ये हालसम्म २२ करोड, १४ लाख ९६ हजार अर्थात् कूल बजेटको २२.२६ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । चालुतर्फ ५८ करोड ९६ लाख विनियोजन भएकोमध्ये १८ करोड ७८ लाख अर्थात् ३१.८५ प्रतिशत र पूँजीगततर्फ ३८ करोड ७४ लाख विनियोजन भएकोमध्ये ३ करोड ३६ लाख अर्थात ८.६९ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । आन्तरिक राजस्व संकलनतर्फ भने लक्ष्यको १०.१५ प्रतिशत मात्र वित्तीय प्रगती हासिल गरेको सभालाई जानकारी गराइएको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षका लागि १५ वटा ठेक्का प्रणालीमा जाने आयोजनाहरूमध्ये ११ वटाको ठेक्का आव्हान भइसकेको ७ वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ भने बाँकी ४ वटा ठेक्का प्रक्रियामा रहेको जानकारी गराइएको थियो ।

त्यसैगरी नगरस्तरीय र वडास्तरीय गरी जम्मा १ सय ८५ वटा परियोजनाहरू ठेक्का तथा उपभोक्ता समितिद्वारा कार्यान्वयनमा रहेका छन् । हालसम्म उपभोक्ता समितिद्वारा सञ्च आयोजनाहरूमध्ये ११ वटा सम्पन्न भइसकेका छन् भने सम्पन्न आयोजनाहरूको अनुगमन कार्य समेत पूरा गरिएको जनाइएको छ ।

अधिवेशनमा सभा सदस्य युवराज विष्ट, कृष्ण कुमार कार्की, अर्जुन कार्कीलगायतले बोलेका थिए । उनीहरुले सभामा पेश भएको प्रस्तावका विषयमा आ–आफ्नो धारणासहित सुझाव पेश गरेका थिए ।

सभामा सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, प्रशासन महाशाखा प्रमुख नविन खालिङ सभा सदस्यहरु तथा कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी