हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को कामको समीक्षा गरेको छ। नगर प्रमुख मिना लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र विषयगत महाशाखा प्रमुखहरुको उपस्थितिमा १८ कात्तिकमा उपमहानगरले वार्षिक कामको समीक्षा गरेको हो।

कार्यक्रममा मेयर लामाले जनतालाई दुःख नहुने गरी सेवा प्रदान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताउँदै वडा अध्यक्ष तथा उपमहानगरका कर्मचारीहरुलाई नगरवासीको हरेक समस्या समाधान तथा क्षमता अभिवृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताइन्। उपमहानगरले प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्ने उनले बताइन्। पदभार सम्हालेपश्चात हेटौंडावासीको हितका लागि योजना बनाएर काम सुरु गरिएको बताउँदै उनले बाँकी कार्यकालमा कसैले पनि औंला उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिइन्।

उनले हेटौंडालाई नमूना उपमहानगरको रूपमा स्थापित गराउन सबैको सहयोग आवश्यक रहेको बताइन्। समीक्षा गोष्ठीमा सामान्य प्रशासन महाशाखा प्रमुख शान्ति विश्वकर्माले आन्तरिक प्रशासन, कानून तथा सुशासन व्यवस्थापन, सम्पति व्यवस्थापन, राजश्व प्रशासनबारे, आर्थिक विकास तथा शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले शिक्षा क्षेत्रको वित्तीय प्रगति र पशुपन्छी विकास, कृषि विकास, उद्योग, सहकारी तथा पर्यटन विकास र प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका प्रगतिबारे, लेखा अधिकृत जेकप श्रेष्ठले आर्थिक प्रशासन महाशाखाबाट भएका काम कारवाही, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गताबारे लक्षित कार्यक्रमको विषयमा जानकारी गराएका थिए।

त्यस्तै पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण साहले सहरी पूर्वाधार विकास, योजना कार्यान्वयन तथा सार्वजनिक निर्माण शाखा, भवन इजाजत तथा मापदण्ड कार्यान्वयन शाखा र भूमि इकाईबाट भएका काम कारबाही बारे, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले समाज कल्याण, आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन, विपद् प्रतिकार्य, फोहोरमैला व्यवस्थापन र वातावरण, सामाजिक सुरक्षा तथा पञ्जिकरण र न्यायिक समितितर्फको कामको जानकारी गराए।

पालिका प्रेस
थप जानकारी