मकवानपुर थाहा नगरपालिकाका न्यायिक समितिका पदाअधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम दिइएको छ । उनीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो । थाहा नगरपालीका थानाबजारको गंगा होटलको सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजक तथा सदस्य हरुको तालिममा सहभागीता रहेको छ ।

थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीले तीनदिने तालिमको उद्घाटन गरे । गोपालीले न्याय सम्पादनमा न्यायिक समिति र मेलमिलापकर्ताहरूको भुमिका एवम अधिकारको बारेमा सहजीकरण गर्नु हुनुपर्नेमा जोड दिए । उनले स्थानीय शासनको मुख्य अभिप्राय नै राष्ट्रिय नेतृत्व निर्माण गर्नु बताए । कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिकक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट न्यापूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्यको निर्माण गर्नका लागि स्थानीय नेतृत्व सबल र सक्षम हुन जरुरी रहेको औल्याए ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सुचिकृत मेलमिलापकर्तालाई समेत तालिममा सहभागी गराइएको पालिकाकी न्यायिक सहजकर्ता गोपी कार्कीले बताइन् । तालिमका सहभागीहरुलाई जगन्ननाथ सुवेदीले सहजीकरण गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।

संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने र सो बमोजिमको न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था समेत छ ।

पालिका प्रेस
थप जानकारी