- बासुदेब गिरी
प्युठान जिल्लाको झिमरुक गाउँपालिकाले घर आगनमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यको थालनी गरेको छ । शारीरिक मानसिकरुपमा अपांग भएका ब्यक्तीहरुलाई वडा कार्यालयमा आउजाउमा समस्या हुने भन्दै गाउँ घरमै पुगेर अपाङ्गता परिचयपत्र बितरण गर्न लागिएको हो। झिमरुक गाउँपालिका ३, ढाकेडीकी लक्ष्मी महतरा उमेरले ५९ पुगिन ।
सामान्य परिवारकि लक्ष्मी महतरा २ वर्ष पहिलेदेखी एक्कासि प्यारालाइसिसको बिरामी परिन् । उहाँका हातखुट्टा नचल्ने भए, बोली बन्द भयो । घरको मुलि अभिभावक बिरामी परेपछि उहाँको सुसारमा एक जना घरको सदस्य अनिवार्य खट्नुपर्छ । उहाँको उपचारमा धेरै खर्च गरेपनी रोग निको नभएको कान्छी बुहारी दोवन्ता महतराले गुनासो गरिन । उपचारमा करिब ५ लाख खर्च भयो । उनले भनिन्, “अस्पतालमा लैजादा डाक्टरले निको हुन्छ भन्छन् तर धेरैपटक काठमाडौ, बुटवल र बिजुवार अस्पताल लगियो उहाँको बिमार बिसको उन्निस भएन ।” एकजनाको सहारा बिना हिडडुल र बोल्न समेत नसक्ने भएकोले समस्या भएको बुहारी दोबन्ता महतराले बताइन् । त्यस्तै झिमरुक गाउँपालिका ३, दारिमचौर बस्ने करिस्मा केसीको कान्छो छोरा रियन केसी जन्मदै अपांग भएर जन्मिए। रियन अहिले उमेरले ४ वर्षको पुगे ।

ऊनी बोल्न हिदडुल र बस्न नसक्ने जन्मदै अपांग भएर जन्मेको रियनको एकजना रखालो अनिवार्य बस्नुपर्ने बाध्यता भएको उनकी आमा करिस्मा केसीले बताइन् । एक्लै छोडेर कतै हिड्न मिल्दैन । उनले भनिन्, धेरै समय छोराकै सुसार र हेरचाहमा गुज्रिएको छ। छोराको उपचारमा करिब ३ लाख खर्च भयो । उपचारले पनि निको भएन उनले भनिन् “बाबुको बिमार निको नहुदा आफू निकै चिन्तित भएको गुनासो समेत गरिन ।” आफ्नै घरमा अपांग परिचयपत्र पाउँदा निकै खुशी हुँदै भनिन, अहिले “घरमै यसरी परिचयपत्र पाउने भन्ने सोचेको थिइन आज पाउँदा खुशि छु ।” सुनेको थिए जिल्लामा गएर मात्र परिचयपत्र बनाउन पाइन्छ भनेको तर आज आफ्नो छोराको आगनमै जनप्रतिनिधि र कर्मचारी आएर अपांग परिचयपत्र दिदा असक्तको सरकार बल्ल गाउँमै आएको अनुभुती भएको करिस्मा केसीले बताइन् । झिमरुक ३ का रियन केसी र लक्ष्मी महतरा दुबैजना मानसिक र शारिरिक दुबै खालको अपाङ्ग भएकोले उनलाई “क” वर्गको परिचयपत्र प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । पछिल्लो समय अभियानकै रुपमा अपांगको घर आगनमै पुगेर अपांग परिचयपत्र बितरण गर्दै आएको उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

अशक्त अपांग भएका व्यक्तिहरुलाई गाउँ देखि पालिका सम्म आउन धेरै खर्च हुने र उनीहरूलाई आउजाउ गर्न समस्या हुने भन्दै यस्तो अभियान शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताए । साउन २९ गतेसम्म ‘क’ वर्गको ६६ जना ‘ख’ बर्गको १ सय ७८ जना, ‘ग’ वर्गको ९० जना र ‘घ’ वर्गको ५८ जना गरि जम्मा ३ सय ९२ जना अपांगलाई अपांग परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख यामलाल पोख्रेलले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल, महिला तथा बालबालिका शाखा प्रमुख यामलाल पोख्रेल लगायतको सहभागितामा परिचयपत्र बितरण गरिएको पालिकाले जनाएको छ । स्थानीयले गाउँ घरमै परिचयपत्र पाउदा पाउदा निकै हौसिएका छन् । यस्ता कार्यक्रमको निरन्तरताको लागि पनि स्थानीयले सुझाव दिएको छन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्