मनहरी गाउँपालिकाका सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने भएको छ । गाउँपालिकाका ९ वटै वडामा खाली र पर्ती जग्गा रहेकाले सुकुम्बासी परिवारलाई बितरण गर्न जग्गाको अभाव नरहेको वडा कार्यालयहरुले गाउँ कार्यपालिकालाई जानकारी गराएको हो ।

मनहरी गाउँपालिका भूमि व्यवस्थापन शाखा प्रमुख राजेन्द्र चौलागाईका अनुसार कूल ६ सय ९३ जना सुकुम्बासी पहिचान भएको छ । दलित भूमिहीन १ सय १ परिवार र भूमिहीन सुकुम्बासी ५ सय ९२ परिवार पहिचान भई उनीहरुलाई जग्गा बितरणका लागि राष्ट्रिय भूमि आयोगमा प्रतिवेदनका साथ सिफारिस गरिएको उनले बताए । मनहरीको १६ साउनमा बसेको कार्यपालिका बैठकले ६ सय ९३ परिवार सुकुम्बासीलाई वितरण गर्नका लागि १ देखि ९ वटै वडामा पर्याप्त जग्गा रहेको विवरणसहित आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठका अनुसार वडा नम्बर १ मा २ सय २० कठ्ठा, वडा नंम्बर २ मा एक हजार कठ्ठा, वडा नम्बर ३ मा २ सय कठ्ठा, वडा नंम्बर ४ मा ८ सय ९४ कठ्ठा, वडा नंम्बर ५ मा २ सय २० कठ्ठा, वडा नंम्बर ६ मा ४ सय २० कठ्ठा, वडा नम्बर ७ मा २ हजार १ सय कठ्ठा, वडा नम्बरं ८ मा ३ सय २० कठ्ठा र वडा नम्बर ९ मा ३ सय २० कठ्ठा जग्गा फेला पारिएको छ ।
यसैबीच मनहरी गाउँपालिकाभित्रका ६ सय ९३ परिवार सुकुम्बासीका लागि जग्गा वितरण गर्न ३ हजार ६ सय ४८ कठ्ठा जग्गा आवश्यक पर्छ । गाउँपालिकाले राष्ट्रिय भूमि आयोगलाई सिफारिस गरिएका खुला र पर्ती जग्गाहरु अधिकाँश पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा परेका छन् ।

पालिका प्रेस
थप जानकारी