मकवानपुरको थाहा नगरपालिकामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा १७ मंसिरमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितका ऐक्यबद्धता’ भन्ने नाराको साथ यस वर्ष अपाङ्गता दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्ता दिवस घोषणा गरेसंगै हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाइँदै आएको छ ।

अपाङ्ग समन्वय समिति थाहा नगरपालिकाको आयोजनामा विकास घरमा कार्यक्रमको आयोजना दिवस मनाइएको हो । अपाङ्ग समन्वय समिति थाहाका संयोजक मनलाल गोपाली तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी गोपालीले स्थानीय तहले १० प्रतिशत बजेट छुट्याएको बताउदै स्थानीय तह भएपछि धेरै र थोरै रुपमा थाहा नगरपालिकाले आफ्नो आर्थिक श्रोतअनुसार बजेट छुट्याइ अपाङ्गता भएकाहरुको हितको लागि सशक्तीकरणमा सहयोग गरिरहेको उल्लेख गरे ।

कार्यक्रममै थाहा नगरपालिकाका फरक क्षमता भएका ख्याति प्राप्त कलाकार अमिर भोम्जनले थाहा नगरपालिका भित्रका सबै सरकारी कार्यालय तथा विद्यालय र स्वास्थ्य चौकीहरु अपाङ्गमैत्री हुन नसकेको बताउदै अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्नेहरुको लागि पनि सरकारले सोच्नुपर्ने बताए । कार्यक्रममा दिप न्यौपानेले सहजीकरण गर्दै ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकासका लक्ष्यहरुको अन्तरसम्बन्ध विषयक अभिमुखीकरण दिएका थिए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष कृष्ण कुमार कार्की, महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र समिति संयोजक अनिता बल, सामाजिक विकास समिति सदस्य पवित्रा सिं ठकुरी, जनक कामी लगायतका १२ वडाकै अपाङ्गता भएकाहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी