पालुङ बहुमुखी क्याम्पसले २४ पुसमा साहित्यिक अन्तरक्रिया कार्यक्रम गरेको छ । वरिष्ठ साहित्यकार डा. नवराज लम्सालको उपस्थितिमा कार्यक्रम भएको हो । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट , उपप्रमुख भरत गोपाली र नाट्य विधाका प्राज्ञ पुरु लम्सालको विशेष उपस्थित रहेको कार्यक्रममा साहित्यकारहरु, प्राध्यापक, विद्यार्थी, पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा. लम्सालले विद्यार्थीहरुलाई साहित्य क्षेत्रमा लाग्न प्रेरित गर्दै साहित्य के, किन र कसका लागि भन्ने विषयमा प्रष्ट पारेका थिए । त्यसैगरी प्राज्ञ पुरु लम्सालले स्थानीयतालाई साहित्यमा जोड्न सके जीवन्त हुनेमा जोड दिए । लम्साल र साहित्य विर्खे अञ्जानले स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्नेमा समेत जोड दिए । सो अवसरमा मच्छिन्द्र बहुमुखी क्याम्पसका शेखर कार्कीले साहित्यको महत्वमाथि प्रकाश पारे ।

कार्यक्रममा थाहानगरका विर्खे अञ्जान, पालुङे चरो, हरिकृष्ण कार्की , गौतम भद्रध्वज, विरोध रायमाझी, अञ्जय प्रधान, विराज थापा, ईश्वरी कार्की लगायतले रचना वाचन गरेका थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गरेको कार्यक्रम क्याम्पस प्रमुख राजन मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो अवसरमा डा. लम्साललाई सम्मान पत्र प्रदान गरिएको थियो भने अतिथि तथा साहित्यकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी