मकवानपुरको राक्सिराङ गाउँपालिकामा चालु आर्थिक वर्षमा १० पटक हाटबजार मेला आयोजना हुने भएको छ । हाटबजार ५ नम्बर वडाको चैनपुरमा हुनेछ । पुस १५ गतेबाट सुरु भएको हाटबजारको दोस्रो संस्करण १ माघ भएको छ । हाटबजारको श्रृंखला अन्य ९ वटा बाँकी रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले जनाए अनुसार अब माघ १५, फागुन १ र १५, चैत १ र १५, बैशाख १ र १५, जेठ १ र १५ मा हाटबजार सञ्चालन हुनेछ ।

अध्यक्ष राजकुमार मल्लले हाटबजारलाई नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीको रुपमा विकास गरिने बताए । जस अनुसार हरेक हाट बजारमा फरकफरक वडाले आफ्नो कला, साहित्य, संस्कृति प्रदर्शन गर्नेछन् र प्रतियोगितात्मक रुपमा अघि बढाइनेछ । स्थानीय कला, भाषा, साहित्य र संस्कृतिको प्रदर्शनी गरी ३ नम्बर वडाले उत्कृष्ट प्रदर्शन गरेको वडाध्यक्ष उत्तम वाइबाले बताए । ‘हाम्रो वडामा रहेको लोकप्रिय पन्चेबाजा, नेपालकै पहिला चेपाङ गायक रविनकुमार चेपाङको प्रतिभासहित थुप्रै लुकेर बसेका कला, साहित्य र संस्कृतिलाई प्रस्तुत गरिएको वडाध्यक्ष वाइबाले बताए ।

माघ १५ गते ८ नम्बर वडा कार्यालय, फागुन १ गते ७ नम्बर वडा कार्यालय फागुन १५ गते ६ नम्बर वडा कार्यालय, चैत १ गते ५ नम्बर वडा कार्यालय, चैत १५ गते ४ नम्बर वडा कार्यालय, बैशाख १ गते ९ नम्बर वडा कार्यालय, बैशाख १५ गते २ नम्बर वडा कार्यालय, जेठ १ गते १ नम्बर वडा कार्यालयले हाटबजारमा प्रस्तुतिको व्यवस्थापन गर्नेछन् । जेठ १५ गते भने हाटबजार व्यवस्थापन समितिले औपचारिक कार्यक्रम गरी उत्कृष्ट प्रस्तुति दिनेलाई प्रमाणपत्र, पुरस्कारसहित हाटबजारको ब्यवस्थापन गर्ने कार्यसूचि छ ।

हाटबजारमा हाल स्थानीय उत्पादनहरु चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनमा उत्पादित फलामे औजारसहित स्थानीय उत्पादनको बिक्री भइरहेको छ । बजारबाट गएका बजारिया सामग्रीको बिक्री बितरणलाई घटाउँदै लैजाने तयारी समेत रहेको हाटबजार प्रचारप्रसार समितिका संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी