मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को पौष मसान्तसम्म १२.०७ वित्तिय प्रगती हासिल गरेको जनाएको छ । पालिकाले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरेको प्रगति विवरण (स्वतः प्रकाशन) मा यो तथ्याङ्क उल्लेख गरिएको छ । पालिकाले चालु आर्थिक वर्षका लागि ४९ करोड १७ लाख ७२ हजार बजेट विनियोजन गरेकोमा हालसम्म ५ करोड ९३ लाख ९२ हजार १ सय ५० रुपियाँ मात्र खर्च गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १४.५७ वित्तिय प्रगती हासिल गर्दा सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १५.२६ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । पूर्वाधार विकासतर्फ १२.४९ प्रतिशत, सामाजिक विकासतर्फ ११.८४ र आर्थिक विकासतर्फ ४.६५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको पालिकाले ८ माघमा सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षका लागि तर्जुमा भएका योजनाहरुमध्ये ४६ वटा योजनाहरु सम्झौता भएको छ । पालिकाले हालसम्म १४ वटा ऐन, ३३ वटा कार्यविधि, ४ वटा नियमावली, ५ वटा निर्देशिका, २ वटा मापदण्ड, नीति र रणनीति १/१ वटा निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । पालिकामा कानून शाखा स्थापना गरी गाउँसभा तथा कार्यपालिकाबाट पारित कानूनहरुलाई व्यवस्थित गरिएको पालिकाले जनाएको छ ।

सेवा प्रदान गर्ने पालिकाका शाखाहरु र जिम्मेवार व्यक्तिहरुको विवरण सार्वजनिक गरिएको भएपनि शाखागत प्रगती विवरण भने स्वतः प्रकाशनमा उल्लेख गरिएको छैन । सार्वजनिक विवरण अनुसार सेवा प्रदान गर्ने शाखा र जिम्मेवार कर्मचारीहरुमा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाको नामावली पालिकाले सार्वजनिक गरेको छ । पालिकाका सूचना अधिकारी दिपक चापागाईद्वारा हस्ताक्षरित स्वतः प्रकाशन विवरणमा पालिकाको काम कार्तव्य, अधिकारसहित सेवा प्रवाह र पारदर्शीताका विधिहरु अवलम्बन हुने झलकहरु प्रकाशन गरिएको छ ।

पालिका प्रेस
थप जानकारी