मकवानपुरको थाहा नगरपालिकाको ७ वटा शाखा महिलाले नेतृत्व गरिरहेका छन् । जिल्लाको एक मात्र नगरपालिका थाहामा २ वटा महाशाखा र २५ वटा शाखाहरु मध्ये ७ वटा शाखा महिलाले नेतृत्व गर्दै आएको प्रशासन शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । थाहानगरको राजश्व, महिला बालबालिका, उद्यम विकास, सहकारी, न्यायिक र सामी र मेड्पा जस्ता महत्वपूर्ण शाखा महिलाको नेतृत्वमा छ । पालिकाको संगठन संरचनामा रहेको दुई महाशाखा प्रशासन र योजना महाशाखा भने पुरुषको नेतृत्वमा छ ।

थाहा नगरपालिकाको राजश्व शाखा डोल्मा लामाको नेतृत्वमा रहेको छ । राजश्व शाखाले पालिकाबाट स्वीकृत शीर्षकको कर तथा महशुल संकलन तथा नियमन गर्ने गर्दछ । राजश्व अनुमान, प्रगतीको विवरण पालिकामा यहि शाखाले पेश गर्दछ भने पालिकाको स्वीकृत आर्थिक ऐन कार्यान्वयनको यहि शाखाबाट हुने गर्दछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र वितरण शाखा प्रतिमा मोक्तानको नेतृत्वमा रहेको छ । यस शाखाले नगरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगताको क्षेत्रमा सशक्तीकरणको कार्य गर्दछ । उनीहरुको क्षमता अभिवृद्धि, आयआर्जन, अधिकार, कर्तव्यलगायतको सावलमा यहि शाखाले काम गर्ने गरेको छ ।

थाहाको उद्यम विकास शाखाको नेतृत्व रोजिना खड्काले गर्दै आएकी छिन । यो शाखाले नगरपालिका भित्रको उद्योग विकास क्षेत्रमा कार्य गर्दछ । उद्योग तथा व्यवसाय, दर्ता, नवीकरण, नियमनलगायतको काम यहि शाखाबाट हुने गर्दछ । सहकारी शाखा अस्मिता तिवारीको नेतृत्व छ । नगरपालिका भरीको सहकारी दर्ता, अनुगमन, नियमनलगायतको कार्य यहि शाखाबाट हुने गरेको छ । नगरपालिकाको न्यायिक शाखाको नेतृत्व गोपी कुमारी कार्कीले गर्दै आएकी छिन् । थाहा नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिको कार्य सम्पादन यहि शाखाबाट हुने गर्दछ । उजुरी, न्यायिक छिनोफानो, मेलमिलापलगायतको अभिलेख समेत यहि शाखाले राख्ने गर्दछ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) मेलिना केसीको नेतृत्वमा छ । संघीय सरकारको सहयोगमा थाहा नगरमा सञ्चालनमा रहेको सामी मार्फत सुरक्षित वैदेशिक रोजगारी, मनोसामाजिक विमर्श लगायतको क्षेत्रमा यस शाखाले काम गर्दैै आएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को नेतृत्व सुनिता बुढाले गर्दै आएकी छिन् । मेड्पा परियोजना अन्तर्गत आय आर्जनका लागि लघुउद्यमसंग सम्बन्धीत काम हुने गर्दछ । गाउँगाउँमा उद्यमी बनाई नागरिकलाई आत्म निर्भर गराउने उद्देश्यका साथ संघीय सरकार अन्तर्गत थाहा नगरपालिकामा परियोजनाकै रुपमा सञ्चालनमा रहेको छ ।

थाहा नगरपालिकाको १२ मध्ये ३ वटा वडा कार्यालयमा महिला वडा सचिवले नेतृत्व गरिरहेकाछन् । वडा नम्बर १ मा अनु रुपाखेती, ३ मा टुईसा राइ र ११ मा मोती रोका क्षेत्रीले वडाको नेतृत्व गरिहेका छन् । अधिकांश वडाध्यक्ष पुरुष हुँदा थाहामा ३ वटा वडा सचिवको जिम्मेवारीमा महिला रहेका हुन् । वडा कार्यालयबाट व्यक्तिगत घटना दर्ता गर्न पनि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वडा सचिवलाई नै स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी तोकिएको छ । वडा कार्यालयबाटै ३७ प्रकारका सिफारिस समेत हुने कानूनी प्रावधान छ ।

महिलाकै नेतृत्वमा थाहाका ५ स्वास्थ्य संस्था

थाहा नगरपालिकामा रहेका १२ वटा स्वास्थ्य संस्था मध्ये ५ वटा स्वास्थ्य संस्थाको नेतृत्व महिलाले गरिरहेका छन् । स्वास्थ्य जस्तो महत्वपूर्ण संस्थाको नेतृत्व महिलाको जिम्मेवारीमा रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको नयाँबस्ती आधारभूत स्वास्थ्य केन्द्रको प्रमुखमा सिसम विडारी छिन् । वडा नम्बर २ मा रहेको पालुङ स्वास्थ्य चौकी सुशिला अधिकारीको नेतृत्वमा सञ्चालन भैरहेको छ । वडा नम्बर ६ को बज्रवाराही स्वास्थ्य चौकीको नेतृत्व जिनु डंगालेलले सम्हालीरहेकी छिन्, ८ नम्बर वडामा पुनम पाख्रिनले नेतृत्व लिइरहेकी छिन भने वडा नम्बर १२ मा चमेली स्याङ्तानले नेतृत्वमा लिति आधारभूत स्वास्थ्य केन्द्र रहेको छ ।

थाहानगरमा रहेका स्वास्थ्य संस्थाहरुबाट उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक, पुर्नस्थापनाकीय, प्रशामकलगायतको सेवा प्रवाह हुने गरेको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए । महिलाले नै नेतृत्व गरेको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा जिल्लामै उत्कृष्ट भई पुरस्कृत समेत भएको छ ।

थाहाका १६ विद्यालयको नेतृत्वमा महिला

थाहा नगरपालिकाका एउटा संस्थागतसहित १६ वटा विद्यालयको प्रधानाध्यापकको नेतृत्वमहिलाले सम्हाल्दै आएका छन् । महिलाको नेतृत्वमा रहेको अधिकांश विद्यालय आधारभूत तहको रहेको थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर १ को कालिदेवी प्राविको प्रधानाध्यापक भई विद्यालयको नेतृत्व कल्पना सिंह ठकुरीले गर्दै आएकी छिन् भने वडा नम्बर १ कै पञ्चकन्या प्राविको नेतृत्व कविता कडेलले गर्दै आएकी छिन् । वडा नम्बर २ को मंगलेश्वर प्राविको नेतृत्वमा निमा केसी छिन् । थाहा नगरपालिका वडा नम्बर ३ को सेतिगणेश आधारभूत विद्यालयको नेतृत्वमा उर्मिला गोपाली छिन् । पालुङ भ्याली हर्ट एकेडेमीको प्रधानाध्यापकमा सरस्वती पौडेलले नेतृत्व गरिहेकी छिन् । उनी थाहानगरको ११ संस्थागत विद्यालयमध्ये विद्यालयको नेतृत्व गर्ने एक्ली प्रधानाध्यापक हुन् । वडा नम्बर ४ को महांकाल प्राविको सस्मिता बल, वडा नम्बर ४ कै ऋषेश्वर प्राविको नेतृत्व ममता थिङ रहेकी छिन् । वडा नम्बर ५ को कल्याण प्राविको सुजाता तामाङको नेतृत्व छ ।

थाहा नगरपालिकाको वडा नम्बर ५ को वसन्त प्राविको नेतृत्वमा मनमायाँ गुरुङ, ५ नम्बर वडाकै बालकुमारी प्राविको कोपिला भेटवालले नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ६ को उदय प्राविको तुलसा न्यौपाने, गणेश प्राविको सोनु श्रेष्ठले प्रधानाध्यापक भई नेतृत्व गरिरहेकी छिन् । वडा नम्बर ९ को महालक्ष्मी प्राविको उषा श्रेष्ठले, जलदेवी प्राविको प्रतिमा लामिछानेले नेतृत्व गदै आएकी छिन् । थाहा ११ नागछेडामा रहेको जनता प्राविको लक्ष्मी धामीले नेतृत्व गरिरहेकी छिन् भने थाहा १२ को टिष्टुङ देउराली नेपाल चेम्बर प्राविको नेतृत्व सुन्तीमायाँ बलले प्रधानाध्यापक भई नेतृत्व गर्दै आएकी छिन् ।

पालिका प्रेस
थप जानकारी