थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पस परीक्षा केन्द्रबाट ५२ वर्षिय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा दिएका छन् । उनले पहिलो दिन १ चैतमा अंग्रेजी विषयको परीक्षा दिएका हुन् । थाहा नगरपालिका वडा नम्बर ५ निवासी गुरुङ झम्केश्वरी मावि थाहा–१ का सिम्बोल नम्बर ८००१८०३४ भएका विद्यार्थी हुन् ।

५ नम्बर वडाको फुर्के बसन्तका गुरुङ विद्यालय छोडेको ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएका हुन् । ५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षामा उनुतीर्ण भएपछि ३७ वर्ष अघि विद्यालय छोडेको गुरुङले सुनाए । उनी विद्यालय छोड्दा जम्मा १४ वर्षका मात्र थिए । उनले भने–‘त्यो उमेरमा जनकल्यणसम्म जाँदा र आउँदा २÷२ घण्टा हिँड्नू पथ्र्यो ।’ सामाजिक काममा असाध्यै लगाव दिने गुरुङलाई ८ कक्षा पास गर्ने ठूलो धोको छ । उनले भने–‘पहिलो दिनको परीक्षा राम्रै भएको छ, सायद अरु सबै विषयमा पनि पास हुन्छु होला ।’ उनले हाँस्दै भने–‘गणित र विज्ञान चै अलि गाह्रो लाग्छ ।’

उनी सामाजिक काम र अभियानहरुको जानकारी राख्छन् । आफूलाई ‘अपडेट’ राख्ने उनको बानी छ । थाहा नगरमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाको अभियान पनि उनले चाल पाइसकेका छन् । अब वि.सं. २०८५ साल बैशाखबाट ८ कक्षा पास नगर्ने व्यक्तिहरु सार्वजनिक पदमा बस्न अयोग्य हुने कुराको पनि उनलाई ज्ञान छ । यहि प्रसंगमा सन्त बहादुरले भने–‘अहिले यत्रो सामाजिक काम गर्दै हिँडेको म, पछि शिक्षाकै कारण सामाजिक काम गर्न पाइँन भने समाज र मेरै लागि राम्रो हुँदैन, त्यसैले पनि म पढ्छु ।’ उनले थपे–‘यसपालि नभए अर्को साल पास गर्छु, तर जस्सरी नि ८ कक्षा पास गर्छु ।’

सन्त बहादुर गुरुङ गाउँकै बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उनले यहि विद्यालयमा कखरा सिकेका हुन् । उनले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समितिलगायत थुप्रै समितिहरुमा बसेर सामाजिक काम गरिसकेका छन् । सामाजिक काम उनका लागि नशा जस्तै भैसकेको छ । अहिले पनि उनी फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष छन् । सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् । त्यसोतः उनी नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत हुन् ।

गुरुङ परीक्षामा मात्र सहभागी भएका होइनन् । उनी विद्यालयमा पनि अध्ययनका लागि उपस्थित हुने गरेको झम्केश्वरी माविका प्रधानाध्यापक गाणेशमान श्रेष्ठले बताए । प्रधानाध्यापक श्रेष्ठले भने–‘सन्त बहादुर गुरुङको अध्ययनप्रतिको लगावले पढ्नलाई उमेरले छेक्देन भन्ने उदाहरण पेश भएको छ ।’ उनलाई अध्ययनका लागि विद्यालयले पनि प्रोत्साहन गर्दै आएको श्रेष्ठको भनाइ थियो ।
गुरुङको दुई छोरा र श्रीमती छिन् । उनको जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् । कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् । उनी पनि स्नातकोत्तर अध्ययनको तयारीमा छन् । श्रीमती मञ्जु कुमारी गुरुङले ५ कक्षा पास गरेकी छिन् । उनको परिवार प्रमुखतः कृषि पेशामा निर्भर छन् ।