पानारोमा रिसोर्टमा अहिले पुनरूत्थानका लागि विभिन्न योजनाअनुसार कामहरू भइरहेका छन्। लगानी थप गरेर विभिन्न संरचनाहरू थप हुँदै छ। पानारोमा रिसोर्टमा गुम्बाका कला झल्काउन सकिनेगरी कामहरू भइरहेका छन्। सिक्किमका कलाकार नरेन्द्र प्रधानले त्यसको डिजाइन गरेर काम गरेका हुन् । ‘हामी नयाँ ठाउँमा नयाँ आयाममा नै कामहरू गर्छौँ । यसमा सौहाद्र्ध चन्द्र हमाल, दृष्टि हमाल, समसेन्द्र चन्द्र हमालले अहिले यसको सबै काम हेरिरहेका छन्’ अहिले पानारोमा रिसोर्टको पुर्नजीवनबारे रविचन्द्र हमालले सुनाए।

एभरेस्ट पानारोमा रिसोर्टमा एडभेन्चर पार्क खोल्ने तयारीका साथ अहिले कामहरू भइरहेका छन् । अनेक जनावरका आकृतिहरु बनाएर यहाँ छुट्टै पार्क बन्दै छ। ‘२००१ देखि नै त्यसका लागि सामानहरू किनेर राखिरहेका छौँ। द्वन्द्वको समय, भुइँचालो र कोरोनाजस्ता कारणहरूले गर्दा हामीले काम गर्ने समय र हौसला पाएनौँ। धेरै पहिलेदेखिको सपनाले अहिले भने मूर्तरुप पाउँदै छ’ हमालले भने।

  

एभरेस्ट पानारोमामा वाटर पार्कसमेत बनाइँदै छ । दामनको यो रिसोर्ट चिसो ठाउँ भएकाले सबै मौसमा अलि चिसो नै हुन्छ । अरू स्थानमा गर्मी हुँदा पनि दामनको यो भेगमा भने आगो ताप्ने नै मौसम हुन्छ। यहाँको हावामा रहेको स्वच्छता नै यहाँ आउने पाहुनाका लागि प्रिय लाग्छ। यस्तोमा वाटर पार्कको योजना निकै भिन्न देखिन्छ।

पानारोमा वरपरको हरियालीमा ४० रोपनी जग्गामा रहेको छ। जहाँ जिपलाइनको पनि काम हुँदै छ । रक क्लाइम्बिङको अभ्यास गराउने भन्ने सोचअनुसार पनि काम भइरहेका छन्। ‘विद्यार्थीहरूका लागि यहाँ जंगलमा सर्भाइबर कोर्सहरू गराउने योजना पनि छ । जंगलमा कसरी हिँड्ने र विरुवा कसरी चिन्ने भन्नेजस्ता कुराहरू पनि हामीले सिकाउने योजना बनाइरहेका छौँ’ हमालले सुनाए।

पहिले ऋण लगानीमा नै कामहरू गरेको सुनाउँदै हमाल भन्छन्, ‘लोन समयभन्दा अघि नै पनि तिरिरहेका छौँ। हामीले विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानहरूमा गरेर आठवटा होटल खोल्ने योजनाअनुसार काम गरिरहेका छौँ। पानारोमामा थप हामीले ३१ करोड रुपैयाँको परियोजनामा विभिन्न योजना बनाएका छौँ ।’

अहिले एभरेस्ट पानारोमा २४ वटा कटेजमा ३४ वटा कोठा छन् । अब सबै गरेर एकसय वटा रुम बनाउने योजनाका साथ काम भइरहेको छ। कुनै समय ३ सय ५० जनाले काम गरेकोमा रिसोर्टमा अहिले भने २२ जना कर्मचारी रहेका छन् । ‘अहिले हामीले पूर्ण क्षमतामा चलाएका छैनौँ। यसमा निर्माणका विभिन्न कामहरू पनि सँगै चलिरहेको छ। यी कामहरू सकिएपछि केही समयमा पूर्ण क्षमतामा सञ्चालन गर्ने छौँ’ हमालले भने।

‘यहाँ हामीले आफूमात्र बन्नेभन्दा पनि सबैका लागि केही होस् भन्ने सोचिरहेका हुन्छौँ। यहाँ यो रिसोर्ट खोल्नकै लागि नै हामीले पहल गरेर बिजुलीबत्ती ल्याएका हौँ। पहिले यहाँ बिजुली थिएन। हामीले नै यहाँभन्दा माथि सिमभञ्याङसम्म बिजुली पु¥याएका हौँ। स्थानीयले श्रमदान गरे, प्राधिकरणले प्राविधिक दिए र हामीले अरु सबै खर्च उठाएर बिजुली पु¥यायौँ’ हमालले सुनाए।

अहिले दामनमा ठूला रिसोर्टहरु मात्रै होइन साना होटलहरू खोलेर नयाँ व्यवसाय गर्नेहरू पनि केही बढेका छन्। दामन, पालुङ, सिमभञ्याङजस्तो ठाउँमा सरकारले खास ध्यान भने नदिएको हमाल सुनाउँछन्।

देशभर होटल विस्तारको योजना

आमादब्लम ग्रुपमार्फत नेपालको पुरानो ट्रेकिङ ट्राभल एजेन्सी चलाइरहेका हमालले आफ्नो पूरा समय नै पर्यटनका लागि खर्चिरहेका छन् । ‘ट्रेकिङ इन नेपाल’ नामक पुस्तकका लेखकसमेत रहेका हमालले नेपालको ट्रेकिङ रुटहरुको विकासमा महत्वपूर्ण कामहरू गरेका छन् ।

पर्यटन बोर्ड आउनुभन्दा पहिले नै नेपाल प्रमोसन बोर्डमा विभिन्न कमिटीमा रहेर पनि काम गरेका हमालले अहिले आफूले गरेका कामहरू फर्केर हेर्दा सन्तुष्टी सुनाउँछन् । ‘नेपालमा ट्रेकिङ ग्रुप लिडरको ट्रेन नै हामीले नै गरेका हौँ। धेरै ट्रेकिङ रुटहरू खोल्ने काम पनि ग¥यौँ, अहिले पनि हरेक रुटको हरेक विषयबारे बताउन सकिन्छ’ उनले भने।

पर्यटन विकासमा अझ व्यापक सम्भावना सरकारले भने देख्न नसकेको सुनाउँदै उनी भन्छन्, ‘सरकार राजनीतिक खिचातानीभन्दा बाहिर सोचिरहेको छैन। पर्यटनमा त आवश्यक भिजन नै देखिँदैन। भएका केही कामहरू पनि निजी क्षेत्रले नै गरिरहेका छन्। पहिले पहिले टुरिजम बोर्डले पनि केही कामहरू त गरेको हो तर अहिले त्यहाँ पनि राजनीति नै छ।’

अहिले विभिन्न महत्वपूर्ण पर्यटकीय स्थानहरूमा गरेर आठवटा होटल खोल्ने योजनाअनुसार हमाल र उनको समूहले काम गरिरहेको छ। जसमध्ये पानारोमाबाहेक पनि काठमाडौं, चितवन र पोखरामा उनीहरूले होटल खोलिसकेका छन्।
‘यो पानारोमासहित चितवन र पोखरामा समेत गरेर चारवटा होटल त भइ नै सकेको छ। चितवनमा ब्लिस रिसोर्ट रहेको छ। पोखरामा चारतारे हेरिटेज होटल स्विट्स एण्ड स्पा रहेको छ। त्यो जीवित संग्रहालयजस्तो नै छ’ हमालले सुनाए।

पोखरामा चारतारे हेरिटेज होटल स्विस एण्ड स्पा राम्ररी नै सञ्चालनमा आइसकेको छ। जहाँ हाम्रो सम्पदा र संस्कार झल्काउनेगरी सुन्दर बनाइएको बताउँछन् हमाल। ‘हराउँदै गएको सम्पदा जोगाउने काम पनि हामीले आफ्नो व्यवसायमार्फत गर्न सक्छौँ भनेर काम गरिरहेका छौँ’ उनले भने। यी विभिन्न होटलहरूमध्ये आफ्नो सुरुवातदेखिको मेहनत र लगानी परिरहेको एभरेस्ट पानारोमा नयाँ शैलीमा उठाउने योजनाअनुसार हमालले काम गरिरहेका छन् ।

  • थाहानगरका होटल तथा होमस्टे विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्