साँकेतिक फोटो

पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोगविरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरको हेटौंडा उपमहानगर पालिका र मनहरी गाउँपालिकामा खोरेत रोगविरुद्ध पशुमा खोप लगाउन थालिएको पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । १० पालिकामा रहेको मकवानपुरमा करिव एकलाख पशु (गाईं र भैंसी) लाई खोप लगाउने लक्ष्य राखिएको पशुसेवा कार्यालय मकवानपुरका पशुचिकित्सक डा.विजय पौडेलले जानकारी दिए ।

पहिलो चरणमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९, १२ र १५ मा चारहजार र मनहरी गाउँपालिका वडा नं. ६ र ७ मा दुईहजार डोज खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए । पशुसेवा कार्यालय मकवानपुरले मङ्सिर पहिला साताबाट सुरु गरेको खोप अभियान पशुको ओसारपसार बढी हुने र रोग फैलने हेटौंडाको रातमाटे र मनहरीको लोथर क्षेत्रलाई बढी प्राथमिकता दिएर सञ्चालन गरिएको हो । बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ ।

एक पकेट खोरेत रोगमुक्त अभियानअन्र्तगत प्रदेश सरकारबाट प्राप्त भएको छ हजार डोज खोप वितरण गरिएको र संघीय सरकारबाट गत बर्षहरुमा झैं यसवर्ष पनि करिव ९६ हजार बढी खोप प्राप्त हुने र यहाँको सबै स्थानीयतहमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । गत आवमा हेटौंडाको १५ र १६ नं. वडाबाट खोरेत रोगको प्रकोप सुरु भएको थियो । जिल्लामा गत आवमा करिव ५५ हजार डोज खोरेतविरुद्धको खोप लगाइएको थियो ।

त्यस्तै चालु आवका लागि पशुसेवा विभागबाट पिपिआर खोप तीन लाख दुईहजार, बंगुर (क्लासिकल स्वाईन फिवर) ८ हजार र गाई भैंसीको लागि भ्यागुतेका लागि दश हजार डोज खोप प्राप्त भएको पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । खोरेत रोग लागेका पशुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नु लगायत लक्षण देखापर्ने गरेका छन् ।

खासगरी खोरेत रोग सीधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतबाट फैलिने गरेको पशु प्राविधिकहरुको भनाइ छ । पशुमा बिषाणुको कारणले लाग्ने महामारी खोरेत नेपालमा अहिलेसम्म सात प्रजातिको भेटिएका छन् ।

पालिका प्रेस
थप जानकारी