मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ तथा चन्द्रागिरि नगरपालिकाको सीमानामा पर्ने डाँडामा प्याराग्लाईडिङको व्यावसायिक उडान सुरु गरेको छ । चन्द्रागिरि एभिएशन नेपाल प्रा.लि.ले सुरु गरेको प्याराग्लाइडिङको मककवानपुर–२ का संघीय सांसद एवं नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाले २२ चैतमा उद्घाटन गरेका छन् ।

चन्द्रगिरि एभिएशन प्रा.लि.का अध्यक्ष हरिहर लामिछानेको सभाध्यक्षता तथा बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याराग्लाईडिङको औपचारिक उट्घाटन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख मणिराज लामिछाने, कोलम्बो प्लान स्टाफ कलेज मनिला फिलिपिन्सका पूर्व महानिर्देशक डा. रामहरि लामिछाने, थाहा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार बलामी, चित्लाङ होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष रामशरण नेपाल, बाबु एड्भेन्चरका अध्यक्ष सानोबाबु सुनार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रमुख अतिथि बर्तौलाले ऐतिहासिक, साँस्कृतिक महत्वको थाहा नगरपालिकास्थित चित्लाङ क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकोे बताउँदै पछिल्लो समय मुलुकको राजधानी काठमाडौं लगायत स्थानबाट प्रत्येक हप्ता हजारौंको संख्यामा पर्यटकहरूको आगमन भइरहेको उल्लेख गरे । बर्तौलाले चन्द्रागिरि अभिएशन नेपाल प्रा.लिले सुरु गरेको प्याराग्लाईडिङ व्यवसायले समग्र थाहा नगरपालिकाको ग्रामीण पर्यटन प्रबद्र्धन तथा आर्थिक, सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लि.का अध्यक्ष हरिहर लामिछानेले हिमवत् खण्ड अन्तर्गतको चन्द्रागिरि क्षेत्रमा पर्ने डाँडालाई नै प्याराग्लाईडिङ व्यवसायका लागि आफुहरूले रोज्नुको पछाडि ऐतिहासिक, प्राकृतिक तथा अन्य बहुआयामिक कारण रहेको बताए । लामिछानेले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने महत्वपूर्ण नाकाको रूपमा रहेको चन्द्रागिरी भज्याङ क्षेत्र र चित्लाङलाई साहसिक पर्यटनको माध्यमबाट नयाँ गन्तव्यको रूपमा विकास गर्न प्याराग्लाईडिङलाई रोजेको बताए ।

चन्द्रागिरि अभिएशन नेपाल प्रा.लि.ले जुन स्थानबाट प्याराग्लाईडिङ उडान सुरु गरेको छ, यसअघि सोही स्थानबाट बाबू एडभेन्चरले पनि प्याराग्लाईडिङ उदाउँदै आएको थियो । कार्यक्रममा चन्द्रागिरि अभिएशन नेपाल प्रा.लि.को संचालकहरूमा अध्यक्ष हरिहर लामिछानेका साथै रोहित सापकोटा, हरि थापा, सुदिप सापकोटा रहेका छन् ।

पालिका प्रेस
थप जानकारी