मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ नौखण्डेमा थाहा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । विइङ युथको आर्थिक सहयोगमा थाहा ११ र १२ का महिलाहरुलाई सिलाइ कटाइ तालिम दिएसंगै स्थानीय युवा वसन्त कार्कीको टिमले व्यक्तिगत लगानीमा गार्मेन्ट सञ्चालनमा ल्याएको हो । गार्मेन्ट उद्योग सञ्चालनको सुरुवात गर्दै थाहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तानले विइङ युथले दिएको ८ महिने सीपमुलक तालिमको सदुपयोग भएको बताए ।
विइङ युथ र थाहा नगरपालिकाको लागत साझेदारीमा थाहा ११ र १२ का ३५ जना महिला र केही पुरुषहरुलाई ८ महिने सिलाइ कटाइ तालिम समेत दिइएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले आगामि दिनमा पालिका भित्र आवश्यक कपडाहरु यहिको प्रयोग गर्ने आधार तयार पार्न सुझाव दिए । लामिछानेले रेडिमेट कपडा बाहिरबाट ल्याउने बाध्यता अन्त्यसंगै थाहाकै दिदीबहिनीले उत्पादन र सिलाई गरेको कपडा लगाउन पाइने विश्वास व्यक्त गरे।
गार्मेन्टबाट थाहा ११ र १२ का महिलाले सीपको सदुपयोगसहित स्वरोजगार हुन सहयोग मिलेको बताइएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ का वसन्त कार्कीसहितको टिमले संचालनमा ल्याएको गार्मेन्टको लागत चालिस लाख रहेको छ । पहिलो चरणमा ग्रार्मेन्टमा १० जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन् । विइङ युथका अध्यक्ष समेत रहेका कार्कीले सीप सिक्न र सिकेका सीपको सहि सदुपयोग गर्न सबैलाई आग्रह गरे । गार्मेन्टबाट उत्पादित कपडाहरु थाहा ११ र १२ नम्बर वडाको सरकारी स्कुलले प्रयोग गर्ने गरी सहकार्य अगाडि बढेको भन्दै उत्पादित तयारी पोशाकको गुणस्तरमा कुनै कसुर नराखिने कार्कीले बताए । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट, झोला लगाएत अन्य तयारी पोशाक उत्पादन गर्ने लक्ष्य रहेको छ ।

गार्मेन्ट उद्योग संचालनसंगै थाहा नगरपालिका वडा नम्बर ११ र १२ का महिला तथा पुरुषहरुको लागि लक्षित सिपमुलक तालिमको समेत समापन गरिएको छ। विइङ युथको आयोजना तथा ओएनजीडी–एफएनइए र थाहा नगरपालिकासंगको सहकार्यमा भएको ८ महिने सिलाई कटाइ तालिमको समापन गरिएको थियो । संस्थाका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा १२ का अध्यक्ष टिकाराम स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, थाहा ११ का पुर्व अध्यक्ष किरणमान बल, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, दातृ संस्था लक्जबर वेल्सका प्रतिनिधीहरुलगायतका उपस्तिथि रहेको थियो।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको कार्यक्रमको बारेमा विइङ युथका कार्यक्रम संयोजक मनिषा बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्