जुम्लाको गुठिचौर गाउँपालिका अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउन जुटेको छ । अहिले पनि समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने भ्रम छ । उनीहरुलाई अपमान गर्नेदेखि हेर्न दृष्टिकोण अझै पनि फरक छ । सरकारी सेवासुविधा सहजै रुपमा उपलब्ध हुदैनन् । आएको सेवा सुविधामा पनि ढिलासुस्ती गर्नाले निकै ठुलो समस्या भोगिरहनु परिरहेको छ ।

गाउँपालिकाले भने अपाङ्गता भएका व्यक्तिको सहजताका लागि विभिन्न विकल्प खोजिरहेको छ । उनीहरुलाई स्वरोजगार बनाउन सीपमूलक क्रियाकलापमा संलग्न गर्न कार्यमा जुटेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “अहिले मोजा, स्वीटर, गलबन्दी, टोपी बुन्न सिकाउँदै छौँ, उनीहरु शारीरिक रुपमा अपाङ्गता भए पनि सपाङ्ग बराबरको काम गर्न सक्छन् भन्ने सन्देश दिन गाउँपालिका लागिपरेको छ ।”

गाउँपालिकाभित्रका ५३ अपाङ्गता भएका व्यक्तिलाई एकैथलोमा जम्मा गराएर सीपमूलक कार्यमा जोड्न सफल भएको गाउँपाािलका अध्यक्ष भण्डारीले बताउनुभयो । यो सीपमूलक कार्यमा सबै वडाका व्यक्ति सहभागी छन् । सो कार्यमा ३६ पुरुष र १७ महिला जोडिएका छन् ।

वडाको सिफारिसका आधारमा सहभागी छनोट गरिएका छन् । नौमूले अपाङ्गता भएका व्यक्तिको सञ्जाल जुम्लाका अध्यक्ष प्रेमराज भण्डारीले स्थानीय सरकारले सीपमूलक कार्यमा जोडेर स्वरोजगारको प्रत्याभूति दिने खालको कार्यक्रम गरेकामा खुसी व्यक्त गरे ।