मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का रुशभ विष्ट ५ वर्षका भए । उमेरले उनी विद्यालय भर्ना भैसक्नु पर्ने हो । तर, विद्यालय जान सकेका थिएनन् । कारण उनको दायाँ खुट्टै छैन । जन्मँदै दायाँ खुट्टामा पानीको पोका जस्तो देखापरेपछि आमा ममता गुरुङ (विष्ट)ले उपचारका लागि अस्पताल पु¥याइन् । डाक्टरले छिटै निको हुने आवश्वासन दिएपछि घर फर्किइन् । छोरा रुशभको व्यथा झन बल्झँदै गएपछि केही महिना नबित्दै उनको खुट्टा काट्नु पर्ने भयो । र, रुशभ बामे नसर्दै दायाँ खुट्टा गुमाउन पुगे ।
निकै टाठा रुशभ पढ्न विद्यालय जान उल्कै रहर गर्थे, तर हिँड्न सक्दैन थिए । अब उनको सपनाले गति लिने भएको छ । रुशभले कृत्रिम खुट्टा पाएका छन् । थाहा नगरपालिका महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाको सहयोगमा उनले खुट्टा पाएका हुन् । घस्रिँदै जीवनशैली चलाउँदै आएका रुशभले सहायोग सामाग्री वितरण भएकै ठाउँ विकास घर शिखरकोटमै ठमठमी हिँडेको जब महशुस गरे उनको खुशीको सीमा रहेन । रुशभको खुशी र विद्यालय पढ्न जाने योजना सुनेर सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख लवशेर विष्ट र अतिथीहरुलाई समेत भावुक बनायो । जनप्रतिनीधिहरुले पालिकाबाट साँच्चै नागरिकमुखी कार्यक्रम स्वीकृत गरेको अनुभव गरायो । अब रुशभले विद्यालय जाने योजना बनाइसकेका छन् । उनको आमा ममताले वैशाखमै विद्यालय भर्ना गरिदिने सुनाइन् । छोराको भविष्य कोर्न सहयोग गर्ने थाहा नगरपालिकालाई ममताले धन्यवाद दिइन् ।
रुशभ जस्तै थाहा नगरपालिका वडा नम्बर ८ का पुस्कल थापाले पनि पालिकाबाट कृत्रिम खुट्टा सहयोग पाएका छन् । ‘ऊ बेला खासै चप्पल लगाउन चलन थिएन, झसक्क भएको निहुँमा खुट्टा गुमाएँ, अहिले थाहा नगरपालिका मेरो सारथि भयो, पहिले झै हिँड्न सक्छु’–थापाले भने । गुमाएको खुट्टा कित्रृम रुपमै पाउँदा पनि थापा निकै खुशी भएका छन् । उनी भन्छन्–‘ठमठमी हिँड्ने मात्र होइन, पोकापाकी सामान पनि बोक्न सक्ने भएको छु ।’ उनको पनि दायाँ खुट्टा गुमेको थियो ।
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण कार्यक्रम राखेको थियो । यस अन्तर्गत अपाङ्ग सरोकार समितिसंगको सहकार्यमा कृत्रिम खुट्टा २ जनालाई, अर्थाे जुत्ता १ जनालाई, वैशाकी १३ जनालाई, १० जना दृष्टिविहिनलाई सेतोछडी, ह्विलचियर २ जनालाई वितरण गरिएको महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् ।
सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका ब्यक्ती तथा उनिहरुका परिवारहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्