लुम्बिनीमा प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार र प्रदेशअन्तर्गतका स्थानीय तहहरूका लागि खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्थाअनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका आवेदकलाई अनलाइनमार्फत आवेदन दिन भनिएको छ । आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

निजामती सेवा तथा स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौं तहका (प्राविधिक) पदहरूको खुला तथा समावेशी प्रयोगात्मक परीक्षाको माग गर्दै सूचनामा छ । स्थानीय तहमा आ.प्र. तथा वढुवाद्वारा पदपूति हुने स्वास्थ्य सेवा, सहायक पाँचौं तहका पदहरुको माग गरिएको छ।

लोकसेवा आयोगले शैक्षिक योग्यता तथा उमेरसम्बन्धी निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ । दरखास्त कार्तिक १७ देखि २३ गतेसम्म बुझाउनुपर्ने आयोगले जनाएको छ।

संघीय सरकारले कानून नबनाएकाले प्रदेशमा लोकसेवा आयोग गठन भएपछि तीन वर्षसम्म काम गर्न नपाएको आयोगका पदाधिकारीले गुनासो गर्दै आएका छन् । संघीय कानून नबन्दा प्राविधिक क्षेत्र करार र ज्यालादारीमा सामान्य कर्मचारी राखेर तीन वर्ष पुराएको छ ।

लुम्बिनीको प्रदेश लोकसेवा आयोग गठन भएको ३ वर्ष भए पनि पर्याप्त कर्मचारी नियुक्त गर्न सकेको छैन । २०७६ साल साउनमा लुम्बिनीमा प्रदेश लोकसेवा आयोग गठन भएको थियो ।

गत आर्थिक वर्षमा आयोगले १२३ कर्मचारी छनोट गरी स्थायी नियुक्तिको लागि सिफारिस गरेको छ । जसमा १०६ जना वनरक्षक रहेका छन् ।

त्यस्तै सामान्य प्रशासनतर्फ ६ जना पाँचौं तहका र ११ जना चौथो तहका छन् । त्यसभन्दा अघिल्लो वर्ष प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरतर्फ ९६ जना कर्मचारीको आवेदन माग गरिएको थियो । तर, इन्जिनियरहरूले अदालतमा मुद्दा दायर गरेकाले स्वास्थ्य क्षेत्रको पनि अन्तरिम आदेशले आवेदन रोक्का भएको थियो ।

पालिका प्रेस
थप जानकारी