हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हेटौंडालाई पर्यटकीय हव बनाउन सहकार्य आवश्यक रहेको बताएकी छन् । २७ फागुनमा मकवानपुर होटल एशोसिएसनको १४ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै नगर प्रमुख लामाले उपमहानगरले पर्यटन प्रवर्धनलाई ध्यान राखेर काम गरीरहेका बताउँदै पर्यटकलाई कसरी हेटौंडामा बस्ने वातावरण बनाउन सकिन्छ त्यस विषयमा अध्ययन गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘हामी कर्रा र राप्तीलाई कसरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सक्छौं भनेर अध्ययन गरीरहेका छौं ।’ दुबै नदिलाई देखाएर हेटौंडामा पर्यटक कसरी रोक्न सक्छौं त्यो विषयमा व्यवसायीहरुसँग छलफल गर्न उपमहानगर तयार रहेको उनको भनाई थियो । अहिले कर्रा खोलालाई आधार मानेर करीडोर बनाउँने तयारीमा उपमहानगर लागि सकेको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडालाई व्यवसायिक हव बनाउँने विषयमा सोच्न जरुरी रहेको उनको भनाई थियो । उपमहानगर व्यवसायिक कुरामा सधै सहकार्य गर्न तयार रहेको भन्दै नगर प्रमुख लामाले हेटौंडालाई चिनाउने विषयमा सोच्न होटल व्यवसायीहरुलाई सुझाब दिइन् । हामीले विस्तारै कामलाई गति दिदै छौं उनले भनिन् ‘हेटौंडा बासीलाई १० हजार लिटर पानी निःशुल्क गरेसँगै अब शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने चरणमा लागेका छौं ।’ अहिले हेटौंडामा दिर्दै आएको शिक्षालाई विकास गर्ने क्रममा इन्जिनीयरिङ्, कानुन र कृषिको उच्च शिक्षा ल्याउने क्रममा रहेको उनले बताइन् ।

साधारणसभामा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हेटौंडामा आएर पर्यटक बस्नुपर्ने आधार तयार गर्न व्यवसायीलाई सुझाव दिएका छन् । उनले भने ‘बाहिरबाट आएका मानिस हेटौंडामा किन बस्नुपर्ने आधार तयार गरौं ।’ उनले व्यवसाय मात्र होइन आउने आगन्तुकको सुरक्षामा ध्यान दिऔं प्रशासन सहयोग गर्न तयार रहेको बताए । मकवानपुर होटल एशोसिएसनका अध्यक्ष दिलिस गोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० का अध्यक्ष फुर्वा लामा, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका सचिव हरी पन्त, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले शुभकामना मन्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एशोसिएसनलाई क्रियाशील बनाइराख्न सहयोग गर्ने सस्थापकहरु शंकरलाल श्रेष्ठ र शालिकराम शर्मालाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो भने एशोसिएसनको भवन निर्माणको लागि ५ कठ्ठा जमिन उपलव्ध गराएको भन्दै हेटौंडा उपमहानगरपालिकालाई कदर पत्र प्रदान गरीएको थियो ।

पालिका प्रेस
थप जानकारी