मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउन गड्यौला मल उत्पादन र प्रयोग सम्बन्धि ४ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्न समेत नपाएर समस्या व्यहोर्नुपरेकाले थाहा नगरपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा ५ जेठबाट तालिम शुरु भएको हो । विद्यालयले जैविक मल गड्यौला मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको विद्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले बताए ।

तालिमको उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले किसानको पक्षमा थाहानगरले नवीनतम योजना बनाएर अघि बढिरहेको बताए। ‘कृषि क्षेत्रको विकासको निम्ति प्राङ्गारिक, जैविक र गड्यौला मल उत्पादन गर्न यो आर्थिक बर्ष बजेटको व्यवस्थापन गरेका छौं’–उपप्रमुख गोपालीले भने । कृषि कार्यमा नै निर्भर रहेका किसानलाई उत्पादनमा व्यवसायीकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको उपप्रमुख भरत गोपालीको भनाइ थियो ।

अहिले स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषि उपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन यस्ता तालिमको आवश्यकता रहेको प्रशिक्षक डाक्टर उत्तम खनालले बताए । कृषि बिषय समेत अध्यापन हुने विद्यालयका विद्यार्थी, कृषि समुहका सदस्यहरु, नगरमा कार्यरत कृषि प्राविधिकहरु समेत ६० जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा गड्यौलाको मल उत्पादन गर्ने विधि सिकाइने आयोजक विद्यालयका शिक्षक मनोज रायमाझीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट, थाहा नगरपालिकाकी कृषि प्राविधिक बाल कुमारी भट्टराई लगायतकाको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी