नेकपा माओवादी केन्द्रले १६ भाद्रबाट देशभरका स्थानीय तहमा जनतासँग विशेष अभियान सुरु गरेको छ । कार्यक्रमको १६ भाद्रमा भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन हुने माओवादीले जनाएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले ७५३ पालिकाका सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिए ।

अभियानको उद्घाटन प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने छन् । बिहान सबै वडामा संचालन हुने कार्यक्रम एकसाथ उद्घाटन गरेपछि अध्यक्ष प्रचण्डले चन्द्रागिरि नगरपालिका वढा नम्बर २ को घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने छन् । माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ को ३ महिने सुरु गर्न लागेको हो । यो अभियानको उद्घाटनमा जुममार्फत सवै स्थानीय तहका पार्टी कमिटीका नेताहरु जोडिने माओवादीको भनाइ छ ।

अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ । पार्टी अध्यक्ष (प्रचण्ड) नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय तथा सेवा प्रवाहमा जनअपेक्षाअनुसार काम गर्दै आएको पार्टीले जनाएको छ । सरकारले चालेका कदमलाई ठूलो जनसमर्थन प्राप्त भएको सो पार्टीको दाबी छ । अभियान टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्नेछ ।

पालिका प्रेस
थप जानकारी