नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ११ के.भि. लाईनमा कालो अर्थात ईन्सुलेशन भएको तार अपग्रेडिङ गरेपछि विद्युत नियमित हुनुका साथै भोल्जेज पनि सुधार भएको छ । पालुङ वितरण केन्द्रको वितरित लाईनको एक मात्र स्रोत धोर्सिङ सवस्टेशनबाट वितरित लाईनको धोर्सिङदेखि कुलेखानी ड्याम साईडहुँदै मार्खुसम्म र ड्याम साईडदेखि ईन्द्रसररोवरको कोगटे खोलासम्मको प्रशारित ११ के.भि. लाईनमा कालो तार फेरिएको छ ।

पालुङ वितरण केन्द्र अन्तर्गत सबै लाईन नाङगो तारमा हुँदा अधिकांश लाईन आएको क्षेत्र वन क्षेत्र भएकाले रुख तथा हाँगाविगाले छुँदा समेत र सामान्य पानी तथा हावाहुरीमा लाईन जाने समस्या रहेको भए पनि लाईन सुधार भएपछि उक्त समस्या कम भएकोे पालुङ प्राधिकरणका प्रमुख बिरमान रास्कोटीले बताए । कालो तार अपग्रेडिङ गरेपछि विगतका वर्षहरु भन्दा लाईन ट्रिपिङको समस्यामा निकै कम भईसकेको र भोल्जेज पनि सुधार भएको साथै एक मात्र फिडर हुँदा भईरहेको समस्या मार्खुमा स्विचिङ स्टेश बनाई मार्खु पालुङ छुट्टै फिडर तानिएका कारण लाईन जाने समस्या न्युनिकरण भएको पनि प्रमुख रास्कोटीले बताए ।

उत्तरी मकवानपुरमा वर्षाको समयमा ३÷४ दिनसम्म लाईन नआउने समस्या थियो तर यस वर्ष प्राथमिकताका साथ हामी सुधारमा लागेका कारण ११ के.भि लाईनमा कालो तार हाल्न, कण्डक्टर अपग्रेडिङ गर्न र मार्खुबाट पालुङसम्म छुट्टै फिडर तानिएका कारण मार्खु चित्लाङ बज्रबाराही सम्म एक फिडर र दामन पालुङ आग्रा गोगने अर्को फिडर तानिएको कारण पनि लाईन गईरहने समस्या कम भएको बताउदै अब बैकल्पिक फिडर बनिसकेकाले एउटामा समस्या आए पनि तत्काल अर्कोबाट विद्युत सप्लाई गर्न सकिने पनि प्रमुख रास्कोटीले बताए ।

पालुङ प्राधिकरणले धोर्सिङदेखि कुलेखानी ड्याम साईट हुँदै मार्खुसम्म र ईन्द्रसरोवरको कुलेखानी ड्याम साईड देखि कोगटे खोलासम्म तथा कुन्छालदेखि टिस्टुङसम्म र फेदीगाउँदेखि चिसापानीसम्म ११ के.भी लाईनमा नाङ्गो तार हटायर कालो तार हालेको छ ।

पालिका प्रेस
थप जानकारी