मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले २० भाद्रमा हेटौँडामा पत्रकार सम्मेलन गरेर पालिकाले खरिद गरी वितरण गरेको पाडीको सम्बन्धमा प्रष्ट्याएका छन् । गत आर्थिक वर्षमा विपन्न, सशस्त्र द्वन्द्वका घाइते परिवार र वनकरियाका लागि पाडी वितरण कार्यक्रममा अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिकाको ध्यानाकर्षण गराएपछि अध्यक्ष कालाखेतीले पत्रकार सम्मेलन नै गरेर प्रष्ट्याएका हुन् । अध्यक्ष कालाखेतीले टेण्डर नगरी कोटेशनबाट फास्ट ट्र्याकमा पाडी खरिद गरिएको बताए ।
कुनै पाडीको वजन नपुगेको हुन सक्ने र सानो पाडीको फोटो खिचेर भ्रम छर्ने प्रयास भएको दावी उनको छ । आफूले व्यापारीलाई बोलाएर साँच्चै महंगो परेको हो कि साना पाडीको पनि ठूला पाडीको मूल्य लगाएको भनेर बुझेको अध्यक्ष कालाखेतीले बताए । पत्रकार सम्मेलनमा पाडी उपलब्ध गराउने व्यापारीलाई समेत साथमै राख्नुभएका अध्यक्ष कालाखेतीले ठूलो पाडीको बढी मूल्य लिन र सानो पाडीको मूल्य थोरै लिन आग्रह गर्दा व्यापारी सहमत भएको उल्लेख गर्दे व्यापारीहरु बढी पैसा फिर्ता गर्न सहमत भएको स्पष्ट पारे । मकवानपुरको मनहरी गाउँपालिकामा गत आर्थिक वर्षमा विपन्न, सशस्त्र द्वन्द्वका घाइते परिवार र वनकरियाका लागि पाडी वितरण कार्यक्रममा अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पालिकाको ध्यानाकर्षण गराएको हो । रास्वपाले पालिकालाई ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न उजुरी दर्ता गराउने तयारी समेत गरेको छ । यता गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने अनियमितता भएको गुनासो आएकोले छानविन समिति बनाएर सम्झौताअनुसार काम नभएको भए व्यापारीसँग पैसा फिर्ता लिने बताएका छन् ।
गत आर्थिक वर्षको अन्तिममा कोटेशनमार्फत एक सय आठ वटा पाडी वितरण गरिएको र पाडी वितरणमा अनियमितता भएको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीले खरिद गरिएको बिल भरपाई माग गर्दा २५ वटा पाडी खरिदको बिल भरपाई पालिकाले उपलब्ध नगराएको रास्वपाका क्षेत्रीय सभापति सञ्जीव पाठकले बताउँछन् । “विपन्न परिवारका लागि भनेर खरिद गरिएको ८३ वटा पाडीको बिल दिइए पनि सशस्त्र द्वन्द्वका घाइते परिवारलाई वितरण गरिएको १५ वटा पाडी र वनकरियालाई वितरण गरिएको १० वटा पाडीको बिल भरपाई पालिकाले उपलब्ध गराएको छैन”, रास्वपा क्षेत्रीय सभापति सञ्जीव पाठकले भन्नुभयो, “८३ वटा पाडीको २३ हजार ५ सय रुपैयाँका दरले पालिकाले भुक्तानी गरेको छ भने २५ वटा पाडीको बिल गाउँपालिकाका कर्मचारीले हराएको भन्दै दिएको छैन ।” कोटेशनमार्फत तीनवटा फरक फरक फर्मको दरभाउ समावेश गरेको भए पनि तीनवटै फर्मको अक्षर एउटै भएकोले मिलेमतोमै बढी मूल्यमा खरिद गरिएको स्पष्ट हुने सभापति पाठकको भनाइ छ ।
पाडी ६० केजीदेखि ८० केजीसम्मको तौल भएको भनिए पनि अधिकांश पाडी ६० केजीभन्दा कम तौलको रहेको पाठकको दावी छ । रास्वपाले अनियमितताको आशंकामा सूचनाको हक प्रयोग गरेर पाडी खरिद प्रक्रियाको कागजपत्र हेरेको उनको भनाइ छ । गाउँपालिकाले वितरण गरेको पाडी व्यापारीले १२ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्ममा सहजै खरिद गर्न सकिने समेत बताएको पाठकले दावी गरे । वनकरियालाई वितरण गरिएको पाडीको मूल्य ३० हजार रुपैयाँ र सशस्त्र द्वन्द्वका घाइते परिवारलाई वितरण गरिएको पाडीको मूल्य २७ हजार रुपैयाँका दरले भुक्तानी दिएको भन्ने बुझिएको पाठकले बताए । पालिकामा अनियमितता भएको विषयमा अन्य राजनीतिक दललाई पनि ध्यानाकर्षण गराएको र ऐक्यवद्धता जनाउन आग्रह गरिएको पाठकले बताएका छन् ।
-समृद्ध समाजको सहयोगमा ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्