मकवानपुरमा पशुचौपायामा लाग्ने नाम्ले रोगको समस्यामा बृद्धि भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा पशुको गोवर परिक्षण गर्दा अधिकांश पशुहरुमा नाम्ले रोग देखा परेको हो । गोवर परीक्षणबाट पशुको कलेजो, आन्द्रामा लाग्ने रोग, नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, चेप्टे जुकाबारे थाहा हुने र सोही अनुसार आवश्यक औषधि प्रदान गर्ने गरिएको पशुसेवा विज्ञ केन्द्र पशुस्वास्थ्य प्राविधिक विनिता राईले बताइन् ।

विज्ञ केन्द्रमा पशुको गोवर परीक्षण गर्दा धेरैमा माटे जुकाको रोग देखिएको छ । वर्षायामको समयमा पशुलाइ चिसो र शंखे किरा लागेको घाँसपात खुवाउँदा माटे जुका रोग लाग्ने गरेको पशुस्वास्थ्य प्राविधिक राईले जानकारी दिइन् । गाईले घाँस, पानी नखाने समस्या आएपछि हेटौंडा–९, लामसुरेधापकी सावित्री भट्टराई पशुको गोवर परीक्षण गराउन विज्ञ केन्द्र आइपुगेकी थिइन् । उनले अर्ध वार्षिकरुपमा गोवरको परीक्षण गराउने र पशुलाई औषधि खुवाउने गरेकी छन् । गाई ब्याउन डेढ महिना बाँकी रहँदा नाम्ले जाँच गराउन हेटौंडाको बसामाडी–३ की लिला ढुंगेल गोवर लिएर विज्ञ केन्द्र आइपुगेकी छन् । उनीहरु जस्तै विज्ञ केन्द्रमा गाईं, भैंसी, बाख्रा र सुंगुरको गोवर लिएर पशुपालक किसान परीक्षणका लागि आउने गरेका छन् ।

चालु आर्थिक बर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले सातसय ६५ गोवरको नमुना परीक्षण गरेको छ । विज्ञ केन्द्रका अनुसार साउनमा २ सय ५३, भदौमा २ सय १५, असोजमा २ सय ८५ र कात्तिक दोस्रो सातासम्म १२ वटा गोवरको नमूना परीक्षण गरिएको हो । विज्ञ केन्द्रमा हेटौंडा, मनहरी, मकवानपुरगढी, बकैया, बागमती, भीमफेदी र बारा जिल्लाबाट पनि पशुको गोवर लिएर परीक्षण गराउन पशुपालक किसान आउने गरेकी विज्ञ केन्द्रकी सहायकस्तर पाँचौ सुस्मिता अधिकारीले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी