मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय एक समारोहकाबीच उद्घाटन गरिएको छ । मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ का साँसद महेश कुमार बर्तौलाले एक समारोहकाबीच नवनिर्मित कार्यालय भवनको १८ मंसिरमा उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका र गाउँपालिकाको संयुक्त लगानीमा वडा कार्यालय भवन निर्माण सकिएसंगै उद्घाटन गरिएको हो । चार कोठे वडा कार्यालय भवन निर्माण सम्पन्नसंगै अब वडाबाट हुने सबै प्रशासनिक कार्य सहजै संचालन गर्न सकिनेछ । यसअघि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएकोमा नयाँ भवनबाट सहज हुने गाउँपालिकाले जनाएको छ । ४ नम्बर वडाका हरि कुमार लामाले ६ आना ३ पैसा तथा जगत बहादुर डिम्डुङले १२ आना क्षेत्रफल जग्गा वडा कार्यालयलाई भवन बनाउन दान गरेपछि सुविधा सम्पन्न भवन निर्माण गरिएको जनाइएको छ ।

वडा कार्यालय भवन उद्घाटनको अवसरमा जग्गादाता दुवै जनालाई सम्मान गरिएको छ । ४ नम्बर वडाध्यक्ष चन्द्र कुमार बलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा लामा, पालिकाका निवर्तमान अध्यक्ष जीवन लामा, प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, वडा नम्बर ३ का अध्यक्ष प्रताप भोम्जन, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष धनवीर स्याङ्तानलगायतकाको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा कर्मचारी तथा प्रतिनीधिहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनीधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।