खेर गइरहेको जडीबुटीबाट मकवानपुरका वनकरिया महिलाले अर्ग्यानिक साबुन उद्योग खोलेका छन् । घ्युकुमारी र तीतेपातीबाट वनकरिञया र चेपाङ महिला मिलेर साबुन बनाएका हुन् । स्थानीयस्तरमा नै पाइने घ्युकुमारी र तीतेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका छन् ।

दुई दशकअघि जङ्गलबाट एकीकृत बस्तीमा सरेका वनकरियाले उद्योग नै दर्ता गरेर काम सुरु गरेका छन् । वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको सन्तोषी वनकरियाले बताउनुभयो । २५ जना वनकरिया तथा चेपाङ महिला मिलेर साबुन उद्योगको थालनी गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरूलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरू जोडिने अवसर प्राप्त भएको सन्तोषी वनकरियाले बताउनुभयो ।

साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरूको धारणा छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यू कुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ,–सन्तोषीले भन्नुभयो ।

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको छ । उनीहरूले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएका थिए । ‘‘साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्‍यो, केलाउनु पर्‍यो, पकाउनु पर्‍यो’’, सन्तोषीले भन्नुभयो । यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने उनीहरूको भनाइ छ ।

घ्युकुमारी र तीतेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ पाँच वटा फर्मा दिएको छ । जसमा कुनैमा एकपटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकैपटक २४ वटासम्म साबुन बनाउन सकिन्छ ।

सानो, मध्यम र ठुलो साबुन उत्पादन गरेका वनकरिया महिलाले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेका छन् । तालिम दिन सहयोग गर्ने संस्थाले नै साबुन किनिदिने गरेको उनीहरूको भनाइ छ । लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले बजारीकरण गर्न समस्या भएको उनीहरूको भनाइ छ । ‘‘साबुनको बजारीकरणको समस्या छ, हामी बजारीकरणमा जान सकेका छैनौँ, साना किसान सहकारीमा दिएका छौँ र राष्ट्रिय आदिवासी महिला मञ्चले साबुन किनिदिएको छ, बाहिर धेरै मार्केटिङ गर्न सकिएको छैन’’, सन्तोषीले भन्नुभयो ।

१८ वर्षदेखि सुकुम्वासीको रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् ।

मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् । आर्थिक रूपमा विपन्न उनीहरू पर्सा वन्यजन्तु आरक्षभित्र निगुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन निकै सहयोग भएको छ ।  गोर्खापत्रबाट ।

पालिका प्रेस
थप जानकारी