कोभिड–१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक दामन भ्यु टावर निजी क्षेत्रले सञ्चालन गर्ने गरी सम्झौता भएको हो । नगरपालिका र दामन भ्यु टावर रिसोर्टबिच २० वर्षका लागि एक करोड रुपियाँमा सञ्चालन गर्न दिने सम्झौता गरिएको छ । थाहा नगरपालिकाका वरिष्ठ सहायक सुदर्शन पहेलीले दामन भ्यु टावर रिसोर्ट प्रालिलाई २० वर्षका लागि सञ्चालन गर्न दिने गरी सम्झौता भएको जानकारी दिए ।

दामन भ्यु टावर रिसोर्ट र नगरपालिकाबिच २० वर्षका लागि सञ्चालन गर्न दिने र भुक्तानीबापतको रकम किस्तामा तिर्ने सम्झौता भएको उनले बताए । यसअघि गत साउनमा दृश्यावलोकन स्तम्भ सञ्चालनमा लागि ३० दिने बोलपत्र आह्वान र त्यसपछि १५ दिने सूचना जारी गरेकामा कुनै पनि कम्पनीले सञ्चालनमा चासो नदेखाएपछि सर्तहरूमा परिवर्तन गरी पुनः बोलपत्र आह्वान गरिएको थियो । २०१३ सालताका त्रिभुवन राजपथ निर्माण गर्ने क्रममा निर्माण गरिएको ऐतिहासिक महत्वसमेत रहेको दृश्यावलोकन स्तम्भ (दामन भ्यु टावर) को उचित व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । यसअघि रिसोर्टसहितको भ्यु टावर एन्ड दामन रिसोर्ट निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गर्न दिएकामा कोभिड–१९ को महामारी देखाउँदै बिचमा नै ठेक्का तोडेपछि दामन रिसोर्ट बन्द भएको थियो ।

छोटो समय ठेक्कामा दिँदा नआउने भएको २० वर्षका लागि ठेक्कामा दिएको बताउँदै उनले हाल रहेको संरचना आफ्नै खर्चमा मर्मत गर्नुपर्ने र नयाँ संरचना बनाउन चाहेमा नगरपालिकाबाट स्वीकृत डिजाइन नक्सा अनुसार बनाउनुपर्ने बताए । साथै सडक विस्तारका क्रममा लिजमा लिनेले बनाएको संरचना भत्काउनुपर्नेमा भएमा लिजमा लिनेले कुनै दाबी गर्न नपाउने, लिजको समय सकिएपछि लिजमा लिएकाले बनाएको संरचनाको स्वामित्व स्वतः नगरपालिका आउने सर्त राखिएको छ । भ्यु टावरमा रहेको टेलिस्कोपबाट पालुङ उपत्यका र वरपरका प्राकृतिक दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, गणेश, मकालुलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

पालिका प्रेस
थप जानकारी