तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको ८ नम्बर वडामा किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गराउन कृषि सामाग्री वितरण गरिएको हो ।
आग्रा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई २९ माघमा कृषि सामाग्ीहरु वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले बताए । कार्यक्रममा ७ एच.पि. क्षमताको पेट्रोलबाट सञ्चालन हुने ३२ वटा मिनिटिलर, २ वटा डिजलबाट सञ्चालन हुने मिनिटिलर, स्प्रेयर २० थान, ३ सय प्याकेट ह्वाइट टप काउलीको बीउ, ३ सय पाकेट अकवरे खुर्सानीको बीउ, ३ सय किलो बीउ छोप्ने प्लास्टिक, ३ सय मिटर बीउ छोप्ने जाली वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।
संघिय ससर्त कार्यक्रम निर्देशिका अनुसार सञ्चालन भएकोे तरकारी खेती प्रवद्र्धन कार्यक्रमबाट वडामा पहिलो पटक किसानहरुले अनुदानमा कृषि उपकरण र बीउ पाएपछि उनीहरु खुशी भएका छन् । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले वडाको आग्रा मोरिया क्षेत्रलाई तरकारी खेती प्रवर्दन गरी विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए ।
त्यसैगरी कृषि शाखा प्रमुख संजय तिवारीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि यस्ताखालको कार्यक्रम प्रभावकारी हुने बताउदै कृषकहरुको हितमा कार्यगर्न कृषि शाखा सधै तत्पर रहेको भनाइ राखे । आग्रा कृषि सहकारीका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझी, ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङ, कृषि विकास अधिकृत विकास विक, पशु प्राविधिक रुपेश कुमार मिश्र, पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा, वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्