सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा स्थानीय तह संजाल गठन थाहामा सम्पन्न भएको छ । थाहा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन कुमार नेगि र सामी थाहा नगरका संयोजक मेलिना खत्रीले सहजीकरण गरेकोे कार्यक्रममा वैदेशिक रोजगार बाट फर्केर देशमानै रहेका हरुको सहभागिता रहेको थियो।

सामीले वैदेशिक रोजगारबाट फर्केकाहरुको स्थानीय तह थाहानगर संजाल समेत गठन गरेको छ । श्रमिता महर्जनको संयोजकत्वमा ११ सदस्यीय नगर संजाल गठन गरेको हो। सञ्जालको सहसंयोजकमा रुपचन्द्र गोपाली, सचीव सन्तोष मगर, सदस्यहरुमा राजु गुरुङ, चित्र बहादुर गुरमाङ, सुमन बिष्ट, कृष्णजी स्याङ्तान, अजय बस्नेत,भिम बहादुर बस्नेत,दिप बहादुर घलान र वीर बहादुर गोले रहेका छन् ।

कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ । कार्यक्रममा सामीका जिल्ला थाहा नगर संयोजक मेलिना खत्रीले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक कुमार नेगिले बताए ।

थाहानगरका रोजगार शाखा प्रमुख समेत रहेका नेगिले थाहा नगरपालिकामा रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अंगभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिए ।

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको मनोपरामर्श दाता सुनिता बस्नेतले जानकारी दिए । बस्नेतले नगरपालिकामा सबै वैधानिक तरिकाबाट गएकाहरूको पक्षमा छिटोछरितो र प्रभावकारी काम गर्दै आएको बताए । कार्यक्रममा सामीका मनो परामर्शदाता सुनिता बस्नेत,रिटर्नी स्वयंसेवकहरु,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी