गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ ।

१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन एकाइका सिडिई योगेन्द्र चित्रकारले खानेपानीको क्षेत्रमा आवश्यक बजेटको अभाव तथा खानेपानी आयोजना सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म विभाजित हुँदा खानेपानीमा १५ औँ पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्त हुन नसकेको बताउनुभयो ।

आज विश्व पानी दिवस

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाइँदै छ । यस वर्ष यो दिवस ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।

पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो ।

‘विकासका लक्ष्य पूरा गर्न प्रेरणा मिलोस’

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले विश्व पानी दिवसको शुभकाना दिँदै विश्व पानी दिवसले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेका छन् । भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पानी पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

भविष्यमा आउन सक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवर्धन गर्न राष्ट्रपति पौडेलले सन्देशमार्फत सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ ।

सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ ।”

पालिका प्रेस
थप जानकारी