बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री माननीय एका लाल श्रेष्ठले प्रदेशको खेतीयोग्य जमिनमा सिंचाइको सुबिधा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन् । ५ वैशाखमा हेटौंडा–७ मा रहेको बनदेवी सिंचाइ तथा वातावरण संरक्षण समितिद्वारा २०५६ सालदेखि संचालित सिंचाइ योजनाको निरिक्षण गर्दैै मन्त्री श्रेष्ठले सिंचाइलाई सबै किसानको पहुँचमा पुर्याउने आफ्नो प्रमुख लक्ष्य भएको बताए ।

स्थानियको सक्रियतामा २०५६ सालमा इनार खनेर पम्पबाट सिंचाइ गरिरहेका नाग्स्वोतीका किसानले उक्त सिंचाइलाई बृहत् सिंचाइको रुपमा लैजान र ७ नम्बर वडाका धेरै खेतीयोग्य जमिनमा सुबिधा पुर्याउने योजना बनाएको समितिका अध्यक्ष भक्त बहादुर केसिले बताए । अहिलेको सिंचाइले बनदेबी टोल, ठुलोटार र धापटोलका केही क्षेत्रमा मात्रै सिंचाइको सुबिधा पुगेकोमा यसलाई विस्तार गर्न आवश्यक रहेको बताउदै बजेट उपलब्ध गराउन आग्रह गरे ।

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको र आफ्नो लक्ष्य नै सबै किसानको खेतमा सिंचाइको सुबिधा पुर्याउने रहेको भन्दै आगामी बर्षको बजेटमा सम्बोधन गराउने प्रतिवद्दता व्यक्त गरे । उक्त सिंचाइलाई नाग्स्वोतीको तल्लो धापटोलसम्म पुर्याई खेतीयोग्य जमिनलाई सिंचाइसङ्ग जोड्न आगामी वर्ष बजेट उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताएका छन् । अनुगमनमा ७ नम्बर वडाका स्थानीय वासिन्दाहरुको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी