राजनीतिक दलहरूबीच संविधान संशोधन र मिसन ८४ को चर्चा चलिरहेका बेला देशभर पालिका हाँकिरहेका महिलाले कुनै पनि बहानामा महिलालाई नेतृत्व तहमा पुग्नबाट रोक्न नहुने बताएका छन्। चुनावको मुखैमा दलहरूले गठबन्धन गर्ने दुईमध्ये एक पदमा फरक दल वा महिला भए हुने भन्ने प्रावधानलाई हटाउनुपर्ने उनीहरूको माग छ। संवैधानिक व्यवस्थाको मर्मविपरीत महिलालाई नेतृत्वमा जानबाट रोक्ने गरिएको छ। हाल देशभर ७ सय ५३ पालिकामध्ये २५ वटामा मात्र महिलाको नेतृत्व छ। यो कुल संख्याको ३ प्रतिशत मात्र हो।

देशभर ४ सय ६० वटा गाउँपालिका, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका गरी कुल ७ सय ५३ वटा पालिका छन्। यीमध्ये अध्यक्ष र नगरप्रमुख गरी प्रमुख पदमा २५ जनाको काँधमा मात्र महिलाको नेतृत्व छ। यो कुल संख्याको ३ दशमलव ३२ प्रतिशत मात्र हो। नेपालको संविधान २०७२ ले कम्तीमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरे पनि त्यसलाई राजनीतिक दलहरूले बेवास्ता गरेको पाइएको छ।

राजनीतिक रूपमा अरूबेला पैंठोजोरी गर्ने राजनीतिक दलहरू चुनावको मुखैमा गठबन्धन गर्दा महिलाले पाउनुपर्ने अधिकार खोसिएको हो। हाल देशभर कार्यरत पालिका प्रमुखहरूमध्ये १० जना एमाले, ९ जना नेपाली कांग्रेस, ४ जना नेकपा माओवादी र एक–एक जना नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका छन्।

महिला नेतृत्व भएका पालिकाहरूमध्ये सबैभन्दा धेरै कोशी र बागमती प्रदेशमा ६–६ जना छन्। कोशीमा १ सय ३७ र बागमती प्रदेशमा कुल १ सय १९ वटा पालिकाहरू छन्। त्यसपछि मधेस प्रदेशमा चार र गण्डकी प्रदेशमा तीनवटा पालिकामा महिलाको नेतृत्व छ। मधेसमा १ सय ३६ र गण्डकीमा ८५ वटा पालिकाहरू छन्। पश्चिम नेपालमा पर्ने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका दुई–दुईवटा पालिकाहरू मात्र महिलाले हाँकेका छन्। यी प्रदेशमा क्रमशः लुम्बिनीमा १ सय ९, कर्णालीमा ७९ र सुदूरपश्चिम प्रदेशमा ८८ वटा पालिका छन्।

देशभरका १३ वटा महानगरसहित नगरपालिका र १२ वटा गाउँपालिकामा महिला नेतृत्व छन्। तर, उपप्रमुख र उपाध्यक्ष पदमा भने प्रमुखको तुलनामा धेरै छन्। २ सय २७ वटामा उपप्रमुख, ३ सय ३५ वटामा उपाध्यक्ष गरी कुल ५ सय ६२ वटा पालिकामा महिला उपप्रमुख र उपाध्यक्ष छन्। देशभरका ६ हजार ७ सय ४३ वडाहरूमध्ये ६९ वटा वडामा मात्र महिला अध्यक्ष छन्। स्थानीय तहको पहिलो निर्वाचनको तुलनामा उपप्रमुख र उपाध्यक्षमा गरी कुल १ सय ४८ जना महिला कम छन्। यसको प्रमुख कारण राजनीतिक दलहरूबीच चुनावको मुखैमा हुने गठबन्धन नै रहेको पाइएको छ।

देशभरका स्थानीय तहमध्ये तीनवटा पालिकामा मात्र दुवै पदमा महिला नेतृत्व छ। कैलालीको लुम्कीचुहा नगरपालिका, झापाको गौरीगन्ज गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकामा मात्र दुवै पदमा महिलाले नेतृत्व गरिरहेका छन्। लुम्कीचुहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत यसपाली सुष्मा महता केसी छिन्। पहिलोपटक जनप्रतिनिधि र प्रशासनिक तीनवटै प्रमुख पद महिला नेतृत्वले सम्हालिरहेको नगरपालिका उपप्रमुख जुना चौधरीले जानकारी दिइन्।

पालिका प्रेस
थप जानकारी