केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।
केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए ।
कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।
कार्यपालिकाको बैठकमा केपिलासगढीका बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवं संस्कृतिविज्ञ चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रम उल्लेख गरिएको छ ।
बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रूपमा चाैरमै उपलब्ध गराइएको थियो । केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्नेलगायत क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलोपटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्