मकवानपुर थाहा नगरपालिकाका १७ जना महिलाले वातावरणमैत्री झोला बनाउने तालिम लिएका छन् । थाहा नगरपालिका तथा थाहानगर उद्योग वाणिज्य संघको व्यवस्थापनामा भएको तालिम उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजनामा भएको हो । सहभागीहरुले ३० दिनसम्म तालिम लिएका हुन् ।

झोला निर्माण सम्बन्धी तालिमको २१ जेठमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु बहादुर विष्टले वातावरणमैत्री झोलाको बजारीकरणमा नगरपालिका सहयोगीको रुपमा रहने बताए । विष्टले प्लास्टिकजन्य पदार्थको विकल्पको रूपमा यस्ता झोलाको प्रयोगलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गर्दै, यस्तो सीपले महिला स्वरोजगारमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

नगरप्रमुख बिष्टले प्रदेश सरकार, स्थानीय सरकार र उद्योग वाणिज्य संघबीचको सहकार्यबाट सीपमूलक तालिमहरु भए तापनि अपेक्षित दक्ष जनशक्ति उत्पादनमा कमी देखिएको टिप्पणी गर्दै अब व्यवहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखे । साथै, उनले वातावरणीय सरसफाइ र मानवस्वास्थ्यको दृष्टिले प्लास्टिकको विकल्पमा यस्ता झोला प्रभावकारी हुने बताए । वडा नम्बर ३ का अध्यक्ष तथा थाहा नगरपालिका आर्थिक विकास समिति संयोजक हिरेन्द्रकुमार रायमाझीले सिकिएको सीप व्यवहारमा उतार्न आग्रह गर्दै स्वच्छ र समृद्ध नगर निर्माणमा सबैको सक्रियता आवश्यक रहेको बताए।

प्रशिक्षार्थीहरूको तर्फबाट बोल्दै नानू बिकले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न तयार रहेको बताउँदै आगामी दिनमा अझ गहिरो र प्राविधिक सीप सिकाउने अवसरको माग गरिन् । कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको जानकारी गराए।

तालिम समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शम्भु सिंह कार्की, प्रशिक्षक आरती श्रेष्ठ, र उद्यम विकास सहजकर्ता लेखमान राउतको समेत उपस्थिति रहेको थियो । तालिमले थाहा नगरपालिकामा वातावरण संरक्षण र महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पालिका प्रेस
थप जानकारी