आगामी पुस ११ गते हेटौंडा उपमहानगरपालिकाले नगरसभा आह्वान गरेको छ । उपमहानगरको ७५ औं कार्यपालिका बैठकले पुस ११ गते नगरसभा आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर ९ गतेसम्म संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा पालिकाको आन्तरिक श्रोत गरी ७० करोड ३१ लाख ८८ हजार रुपैयाँ अर्थात् कुल अनुमानित आयको २४ प्रतिशत आम्दानी भएको जनाएको छ । खर्चतर्फ ४० करोड ८१ लाख ४ हजार अर्थात् अनुमानित व्ययको १४ प्रतिशत खर्च भएको जनाएको छ । कार्यपालिका बैठकले हेटौंडा–१० स्थित डम्पिङ साइट (फोहोर प्रशोधन तथा विसर्जन केन्द्र) को स्तरोन्नतिका लागि आयोजना प्रस्ताव पेश गर्ने निर्णय गरेको नगरप्रवक्ता सविन न्यौपानेले जानकारी दिए । आयोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामुदायिक परियोजनाअन्तर्गत सञ्चालन गरिने संघीय सरकारबाट ९० प्रतिशत र उपमहानगर पालिकाको १० प्रतिशत साझेदारी रहने गरी स्तरोन्नति हुने बैठकको निर्णयमा स्पष्ट पारिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलको क्रममा तोडफोड तथा आगजनीबाट हेटौंडा उपमहानगर पालिका कार्यालय तथा वडा कार्यालयहरु र स्वास्थ्यसंस्थाहरु प्रभावित भएको हुँदा प्राविधिकको लागत अनुमानअनुसार मर्मतसम्भार कोषबाट निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका साथै, आन्दोलनको क्रममा बढी क्षति भएका ६ वटा वडालाई मेशिनरी औजार उपकरण खरिद गर्न प्रतिवडा ५ लाखका दरले ३० लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।
यस्तै, हेटौंडा– ४ स्थित भित्री सडकमा खाल्डाखुल्डी भई आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेकाले मर्मतसम्भार कोषबाट खर्च हुने गरी मर्मतप्रक्रिया अघि बढाउने निर्णयसमेत कार्यपालिकाले गरेको छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्