जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्षको फागुपूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी विज्ञप्तिमा होलीका दिन भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिएको हो ।

अत्यावश्यक कारणवश कार्यक्रम गर्नुपर्ने भएमा पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने जनाइएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौनअवधिभित्र फागुन १८ र १९ गते होली पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । होली मनाउने नाममा कसैको इच्छा विपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृंखल व्यवहार नगर्न पनि प्रशासनले आग्रह गरेको छ । मादक तथा नशालुपदार्थ सेवन नगर्ने, सेवन गरी सवारीसाधन नचलाउने, सार्वजनिकस्थलमा होहल्ला नगर्ने, चर्को आवाजमा बाजा (डिजे) नबजाउने तथा छिमेकीलाई असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

पटका पड्काउने, आतिशबाजी गर्ने, कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, फोहरपदार्थ छ्याप्ने तथा दुःख हैरानी दिने जस्ता कानुनविपरीतका गतिविधि नगर्न चेतावनी दिइएको छ । निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न तथा उल्लंघनसम्बन्धी जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायमा उपलब्ध गराउन आग्रह गरिएको छ । प्रचलित कानून वा निर्वाचन आचारसंहिता विपरीत कार्य गरे वा गराएमा कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी