मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा एकदिवसीय मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न भएको छ । ३ जेठमा गाउँपालिका–६ ठाडीखोलास्थित सिता आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो । नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए। संस्थापक अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रम संयोजक शर्मिला श्रेष्ठले मानव अधिकारबारे जनचेतना अभिवृद्धि गरी नागरिकलाई आफ्ना अधिकारप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

कार्यक्रममा प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कार्यकारी निर्देशक शान्ति लामा, वडा सदस्य सीता बिक, विद्यालयका प्रधानाध्यापक राजकुमार आलेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले मानव अधिकारसँगै कर्तव्य र नैतिकतालाई पनि समान रूपमा महत्व दिनुपर्ने बताइन्।

उनले नैतिकता बिर्सेर अधिकार मात्रै खोज्नु उचित नहुने उल्लेख गर्दै सकारात्मक सोचका साथ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखिन्। बस्नेतले मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण दिँदै मानव जातिको अधिकार, कर्तव्य, नागरिक अधिकार तथा अधिकारका आधारभूत पक्ष र विशेषताबारे जानकारी गराएकी थिइन्। त्यसैगरी अधिवक्ता पम्फा पुरीले मानव अधिकारसम्बन्धी कानुनी प्रक्रियाबारे जानकारी दिँदै मानव अधिकार हनन, पीडित र पीडकको परिभाषा, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सार्वजनिक अपराध तथा कानुनी प्रावधानबारे प्रस्तुतीकरण दिइन्। उनले पछिल्लो समय बालविवाह गरेका २३ देखि २८ वर्ष उमेर समूहका दम्पतीहरू सम्बन्धविच्छेदका लागि आउने क्रम बढेको जानकारी समेत दिइन्।

पालिका प्रेस
थप जानकारी