खाद्य स्वच्छताको आधारमा थाहा नगरपालिकाको नयाँ गाउँमा रहेको होटल पाइनस उत्तम घोषित भएको छ । मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टमा खाद्य स्वच्छताको आधारमा स्तर निर्धारण गरिएको हो । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुगमन गरी स्तरीकरणको आधारमा लोगो वितरण गरेको हो ।

यहि २७ र २८ असोजमा थाहानगरका विभिन्न होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएकोमा नगरका १५ वटा होटललाई सामान्य चेकजाँच गरी १३ वटा होटल स्तरीकरण गरेको हो । स्तरीकरणमध्ये ६ वटा होटललाई सामान्य स्टिकर, ६ वटा होटललाई १ स्टार लोगो तथा थाहा ४ नयाँगाउँमा रहेको होटल पाइनसलाई २ स्टार उत्तम लोगो प्रदान गरिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

थाहानगर होटल एशोसियसनसंगको समन्वयमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्रमुख डाक्टर क्षितिज श्रेष्ठ तथा कार्यालयका प्रेम अर्याल, स्थानीय प्रशासन सहितको टोलीले थाहा नगरभित्रका होटलहरुलाई खाद्य स्वच्छताको आधारमा लोगो वितरण गरिएको होटल एशोशियसन थाहानगरका अध्यक्ष शिवकुमार खत्रीले बताए ।

लोगो बितरण कार्यक्रममा नगर प्रमुख विष्टले आधारभुत तर खाद्य स्वच्छताको न्युनतम आधारलाई सुधार गर्न आग्रह गर्दै पर्यटकीय क्षेत्रको होटल व्यवसायहरुको स्तरिकरण, मुल्यांकन तथा अनुगमन अति आवश्यक रहेको बताए । खाद्य तथा गुण नियन्त्रण कार्यालयको रोहवरमा रहने गरि स्तरीकरण लोगो वितरण गर्नको निम्ति होटल एशोसियसन थाहा नगरको अध्यक्ष संयोजक रहने गरी स्थानीय खाद्य स्वच्छ्ता समिती गठन गरिएको थियो । समितिको सदस्यहरुमा थाहा ४ का वडा अध्यक्ष नारायण लामा, स्थानीय होटल संचालकको प्रतिनिधि एक जना, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि एक जना, उपभोक्ता हकहित संरक्षण समितिका प्रतिनिधि र खाद्य कार्यालयका प्रतिनिधि एक जना रहेका थिए । कार्यालयले चित्लाङ र मार्खुको लागि ४ कात्तिकमा अनुगमन गरि लोगो वितरण गर्ने जनाएको छ।

पालिका प्रेस
थप जानकारी