बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन्। मकवानपुर जिल्लाको सबैभन्दा उचाइमा रहेको सिमभन्ज्याङ बजारनजिकै प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपियाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ। थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तीपाइले निर्माणलगायतका काम सम्पन्न भएको छ।

पानी जम्मा गरी ताल बनाउन प्रस्तावित तालमा हात्तीपाइलेबाहेकको तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ। पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी संकलन हुनेछ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरका अनुसार निर्माणाधीन तालको माथि थप पाँचवटा र तल एउटा ताल बनाउने योजना रहेको छ। डिभिजन कार्यालयका सबइन्जिनियर रञ्जित श्रेष्ठले योजनाको करिब ६५ प्रतिशत काम सकिएको जानकारी दिँदै सिमभन्ज्याङ क्षेत्रमा हाल अधिक चिसोका कारण निर्माण रोकिएको बताए । स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा वातावरणमैत्री र पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण प्रयास सुरु भएको हो। सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले १० वर्ष अघिबाट गरिएको प्रयास र पहलले सार्थकता पाउन लागेको बताउँदै पहिले तारजाली, ढुङ्गा माटोको बाँध निर्माण गर्दा स्थायी नभएका कारण पक्की पर्खाल निर्माण गर्न लागेको बताए ।

थाहा नगरपालिकाको तीन लाख र स्थानीय विकास मन्त्रालयबाट आएको साढे सात लाख रुपियाँबाट छड र सिमेन्ट प्रयोग नगरी वातावरण र पर्यावरणमैत्री निर्माण गरेको संरचना वर्षाले क्षति पु–याएको बताउँदै पानीको मूल निर्माणाधीन तालसँगै रहेकाले पानी अभाव नहुने बताए । ‘तालमा हालेका असला माछाको उत्पादन राम्रो भएको छ, ताल निर्माणपछि बोटिङ र फिसिङको योजना छ,’ उनले भने, ‘सात ताल निर्माणपछि यस क्षेत्रमा पर्यटकको बसाइसमेत लम्बिने विश्वास छ।’ दामन–पालुङ क्षेत्रमा पछिल्लो समय पर्यटक आउनेक्रम घटेको बताउँदै ताल निर्माण सम्पन्न भएपछि पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष लामाले बताए । ताल निर्माणसँगै ताल दायाँबायाँ पैदल मार्ग निर्माण, आश्रय स्थल र सौन्दर्यीकरण गरिने योजनासमेत रहेको छ।

पालिका प्रेस
थप जानकारी