कास्कीको माछापुच्छ्रे गाउँपालिकाले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत महिलालाई व्यवसायिक चालक बनाउने उद्देश्यले १८ महिलालाई एक महिने हलुका चारपाङ्ग्रे सवारी साधन चालकको तालिम सञ्चालन गरिएकोे उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन्।

‘हामीले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । चालक तालिम पनि यसैअन्तर्गत सञ्चालन गरेका हौ,’ उनले भनिन् ।   महिलालाई परम्परागत सीपभन्दा अलि फरक प्रविधि र विकाससँग जोडेर तालिम दिइएको उनको भनाइ छ। तालिम विलासिताको लागि नभइ व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले सञ्चालन गरिएको र यो तालिमले विस्तारै चालक बन्न प्रेरित गर्ने अपेक्षा गाउँपालिकाको छ ।

गाँउपालिकाले २५ वर्षदेखी ४० वर्ष उमेर समूहका एकल, दलित र विपन्न महिलालाई लक्ष गरेर आवेदन माग गरेकामा ६३ आकांक्षीले फर्म भरेका थिए । तीमध्ये  १८ जना छनोट भएका थिए ।

गाउँपालिकाले यसअघि महिलालाई निजामति सेवा प्रवेशका लागि लोकसेवा तयारीको कक्षासमेत सञ्चालन गर्नाका साथै महिल सीपसँग जोडेर महिला उद्यमी समूहसमेत गठन गरेको छ ।  स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आर्थिक सशक्तिकरण गर्न गाउँपालिका र समुदायसँग मिलेर कोशेली घर निर्माणको कार्य पनि थालनी गरिएको उपाध्यक्ष दवाडीले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी