मकवापुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका वडा नम्बर १ र २ का ६ घरपरिवारले नयाँ घर पाएका छन् । सिआरएस नेपालको आर्थिक सहयोग तथा लुमन्ती आवासको लागि सहयोग समूह र सप्रोष नेपालको सहजीकरणमा वडाका गरीब तथा विपन्न परिवारका ६ घरपरिवारले नयाँ आवास पाएका हुन् ।

मंगलबार एक कार्यक्रमबीच वडाअध्यक्षको रोहबरमा घर हस्तानतरण गरिएको हो । योजना अन्तर्गतका वडा नम्बर १ की सानुमाया वाईवा, वडा नम्बर २ का जयराम स्याङ्तान, सत्यराज गोम्बा, सानु घलान, हस्तबहादुर स्याङ्तान, धनबहादुर ग्लानलाई हस्तान्तरण गरिएको वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए । वडा नम्बर १ मा करिब ७ लाख रुपैयाँ र वडा नम्बर २ मा ८ लाख १० हजारका दरले ५ वटा घर बनाइ हस्तानतरण गरिएको हो । यस्तै सोही योजना अन्तर्गत वडा नम्बर १ का ५९ घरधुरी र २ का १२ घरधुरी भुकम्प प्रभावित स्थानीयलाई ५० हजार रुपैयाँ बराबरको झ्यालढोका निर्माणमा सहयोग गरिएको छ ।

यसैगरी सामग्री, ज्याला, ढुवानी खर्चबापत दुवै वडामा गरी जम्मा २२ घरपरिवारलाई ११ लाख रुपैयाँ सहयोग गरिएको छ । साथै जीविकोपार्जनमा जोड दिन संस्थाले वडा नम्बर १ का ७० र वडा नम्बर २ का १७ घरपरिवालाई आवश्यकता अनुसार बाख्रा, कुखुरा, सिलाई मेसिन, वीउँविजन सहयोग गरेको छ ।

पालिका प्रेस
थप जानकारी