मकवानपुरका ४ वटा स्थानीय तहले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन नजिता सार्वजनिक गरेका छैनन् । नतिजा सार्वजनिक नगरेपछि मकवानपुरकासहित ८३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नतिजा सार्वजनिक गरी प्रणालीमा समाविष्ट गर्न एकसाताको अन्तिम समयावधि दिएको छ ।

मकवानपुरको थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी र बकैया गाउँपालिकाले नतिजा सार्वजनिक नगरेका हुन् । हालसम्म नतिजा सार्वजनिक गरेकाहरु स्थानीय तह हेटौंडा उपमहानगरपालिकाको ८८.५, बागमती गाउँपालिकाको ५७.७५, भीमफेदीको ६४.७५, इन्द्रसरोवरको ६१.७५, कैलाशको ६१.५ र राक्सिराङ गाउँपालिकाको ६८.५ अंक प्राप्ताङ्क रहेको छ ।

मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालका अनुसार ६७० स्थानीय तहले मात्र यो नजिता सार्वजनिक गरी प्रणालीमा आवद्ध गरेका छन् । स्थानीय तहका सवल र दुर्वल पक्षहरुको स्वमूल्यांकन गरी आफैँले आफैँलाई नम्बर दिने प्रणाली संस्थागत क्षमता स्वमूल्यांकन हो । यस्तो मूल्यांकन गरी सम्वन्धित स्थानीय तहको कार्यपालिकाबाट स्वीकृत गराई आफ्नो वेवसाइट, सूचना पार्टीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

संघीय सरकारले यो नजिता सार्वजनिक गर्न एकीकृत प्रणाली बनाएको छ । जुन प्रणाली आगामी २९ माघको मध्यरातबाट बन्द हुने भन्दै मन्त्रालयले सो अवधिभित्र नतिजा सार्वजनिक नगर्ने स्थानीय तह यसबाट बञ्चित हुने भन्दै चाँडो आवद्ध हुन भनेको छ । ८३ वटा स्थानीय तहलाई पत्र लेखेर एक साता भित्र स्वमूल्यांकन नजिता सार्वजनिक गर्न र प्रणालीमा आवद्ध हुन भनिएको अधिकृत नेपालले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी