मकवानपुरमा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्थालगायत कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यवसाय दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको पछिल्लो पाँच वर्षयताको तथ्यानङ्कले देखाएको छ ।
उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०÷८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यवसाय दर्ता भएका छन् । यो आर्थिक वर्ष (आव)मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्य तर्फ तीन सय ३६ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुषालले जानकारी दिए । भुषालका अनुसार आर्थिक वर्ष २०७९÷८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यवसाय दर्ता हुदाँ उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो । यसअघि आव २०७८÷७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यवसायको मात्र लगतकट्टा भएको थियो ।
आव २०७७÷७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्य तर्फ आठ सय १० नयाँ उद्योग व्यवसाय दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाण्ज्यितर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको कार्यालयको तथ्याङकले देखाएको छ । आव २०७६÷७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँच सय २५ नयाँ उद्योग व्यवसाय दर्ता भएको थियो । यो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यवसायको लगतकट्टा गरिएको थियो । यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग व्यवसाय दर्ता घट्दै जाँदा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ ।
विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोरो भन्झटिलो व्यवस्थाका कारण पनि उद्योग व्यवसाय दर्ता भन्दा बन्द गराउने क्रम बढ्ेको प्रमुख भुषालको भनाइ छ । लामो समयदेखिको आर्थिक मन्दीका कारण हेटौंडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढ्दै गएको छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्