
मकवानपुर थाहा नगरपालिकाबाट अत्ति विषालु किङ कोब्रा सर्पको उद्धार गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ स्थित करुणाभूमि सामुदायिक वनको कुलो भन्ज्याङ क्षेत्रमा २० असोजमा उक्त सर्प देखा परेपछि करुणाभूमि सामुदायिक वनका अध्यक्ष बिनोद लामाले डिभिजन बन कार्यालय राप्ती मनहरीमा खबर गरेका थिए ।
डिभिजन वन कार्यालयबाट २१ असोजमा सशस्त्र वन रक्षक कमाण्डर मधुसुदन देवकोटाको नेतृत्वमा आएको टोलीले सर्पको उद्धार गरेका हुन् । उद्धार गरिएको सर्पलाई २१ असोसमा चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको कमाण्डर देवकोटाले जानकारी दिए । ‘उद्धारका बखत त्यत्ती चलाख थिएन, जब तलतल गर्मीमा आयौं चलाख भएर सर्पले जाली नै टोक्न थाल्यो’–देवकोटाले भने–‘हामीले उद्धार गरेको सर्प शतप्रतिशत किङ कोब्रा हो, यो अति विषालु हुन्छ ।’
तराईबाट पराल लैजाँदा त्यसमै लुटपुट्टिएर सर्पहरु थाहानगर क्षेत्रमा पुगेको हुनसक्ने देवकोटाको भनाइ छ । उनका अनुसार–‘ठूला खानेपानी पाइप र विजुलीको पोलको भित्र बसेका सानो बच्चा ढुवानीका क्रममा पनि पुगेको हुनसक्छ ।’ उद्धार गरिएको सर्प बयस्क अवस्थाको भएको देवकोटाले बताए । सर्प उद्धार टिममा विरसिंङ बोहरा, हरेराम धमला, ज्ञानकुमार श्रेष्ठलगायत रहेका थिए ।
यसअघि पनि थाहानगरको कुन्छालबाट १९ असोजमा किङ कोब्रा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो । कुन्छालमा स्थानीय शिवहरि वर्तौलाले किङ कोब्राको उघार गरेका थिए । पछिल्लो समय थाहानगरका विभिन्न क्षेत्रमा तपाईमा पाइने विषालु सर्पहरु देखा पर्न थालेको करुणाभूमि सामुदायिक वनका अध्यक्ष लामाले बताए । नगर क्षेत्रमा भेटिएका अधिकांश सर्पहरु किङ कोब्रा भएको लामाले सुनाए ।
प्रतिक्रिया दिनुहोस्