मकवानपुर थाहा नगरपालिकाको वार्षिक खेल तालिका अनुसार २९ कार्तिकबाट सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा इन्द्रायणी चौर खेल मैदानमा शुरु भएको प्रतियोगिताको एक समारोहकाबीच थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरे ।
१ मंसिरसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख विष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिका खेलकुदमा बजेट बढाउँदै लैजाने बताए । उनले अहिले देशकै अवस्थाका कारण पालिकाको पनि खेलकुदमा बजेट कम भएको उनको स्वीकारोक्ती थियो । उनले खेलकुदको माध्यमबाट थाहानगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै थाहाका खेलाडीहरुले छुट्टै पहिचान बनाइरहेको भनाइ थियो ।

खेलकुद विकास समिति थाहानगरका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी तथा राजनीतिक दलका प्रमुखहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमका अतिथीहरुलाई थाहानगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधव विक्रम मल्लले स्वागत गरेका थिए ।
थाहा नगरका ६ संस्थागतसहित १७ वटा माविका कक्षा १२ सम्मका १८ वर्ष ननाघेका विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाएका छन् । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी संचालन भएको मेयरकप भलिबल प्रतियोगिताको छात्र र छात्रातर्फ हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुने विद्यालयले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतीय हुने विद्यालयले नगद ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।

























































प्रतिक्रिया दिनुहोस्