नुवाकोटको पञ्चकन्या गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा भैंसी पालन कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमको लागि निर्माण भएको भैंसी गोठ लागि निर्माण सामग्री गाउँपालिकाबाट खरिद गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला भुक्तानी गरी बनाइएको छ । यस कार्यक्रमले स्थानीयस्तरमा नयाँ सम्भावना र रोजगारी सिर्जनाको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
भैंसी पालनबाट उत्पादन हुने दूध गाउँपालिकामा आउने सेवाग्राहीलाई चिया खुवाउन प्रयोग गरिनेछ। यो कदमले सेवा लिन आउनेलाई थप सुविधा प्रदान गर्ने मात्र होइन, गाउँपालिकाको आतिथ्य संस्कृतिलाई पनि प्रवर्द्धन गर्ने विश्वास गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम का रोजगार संयोजक बताउँछन् । उनी भन्छन् कार्यक्रमलाई उत्पादन सँगै जोड्ने हो भने सबै नयाँ काम बाट आन्तरिक रोजगारी सँगै उत्पादन बढाउन सकिने छ ।
त्यस्तै, भैंसी पालनबाट उत्पादित मल चिया खेतीका लागि उपयोग गरिनेछ। गाउँपालिकाले चिया खेतीलाई प्रोत्साहन गर्दै आर्थिक विकास र कृषि व्यवसायको सम्भावनालाई थप उचाइमा पु¥याउने प्रयास गरिरहेको छ । मल प्रयोगले चिया खेतीको उत्पादन बढाउने र कृषि क्षेत्रको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। यो नयाँ पहलले गाउँपालिकामा आन्तरिक रोजगारी सिर्जना गर्नेछ। स्थानीयवासीलाई सीपमूलक तालिम, कामका अवसर, र आय आर्जनको माध्यम उपलब्ध गराएर ग्रामीण विकासमा ठोस योगदान पु¥याउने लक्ष्य राखिएको छ।
गाउँपालिकाका प्रमुख तेज बहादुर तामाङले भने, “हामीले यो कार्यक्रमलाई बहुआयामिक बनाउँदै स्थानीय स्रोत र साधनको उपयोग गरी ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउने उद्देश्य राखेका छौं। यसले पञ्चकन्यालाई आत्मनिर्भर बनाउने दिशामा ठूलो भूमिका खेल्नेछ।” यस योजनाको सफलताले पञ्चकन्या गाउँपालिकालाई नयाँ पहिचान दिलाउने र स्थानीय विकासको उदाहरणीय नमूना बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्