मकवानपुर थाहा नगरपालिकामा क्रियाशील सामाजिक संस्था लियो क्लब अफ पिस थाहा नगरपालिकाद्वारा आयोजित प्रथम लियो थाहा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ रनिङ शिल्डको उपाधी बागेश्वरी माविले चुमेको छ । बिजेता बनेसंगै बागेश्वरीले शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

थाहा नगरपालिका वडा नम्बर ११ मा टिष्टुङको बागेश्वरीले नगरका अरु ९ विद्यालयलाई पछि पार्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा सरस्वती विद्या मन्दिर थाहा–६ बज्रवाराही दोस्रो र पालुङ भ्याली हार्ट एकेडेमी थानाबजार तेस्रो भएको कार्यक्रम संयोजक बिराज थापाले जानकारी दिए । जनकल्याण माध्यमिक विद्यालयको सभाहलमा लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा थाहा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी १० विद्यालयको सहभागिता थियो ।

कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, लायन्स थाहानगरका निवर्तमान अध्यक्ष गिता कार्की, लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान, लियो क्लव थाहाका निवर्तमान अध्यक्ष रोशनी गोपाली, लियो पूर्व अध्यक्ष कमल बिष्ट, नविना बिष्ट, माधव कार्कीलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।