हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा स्थानीय तह उपनिर्वाचनअन्तर्गत १६ मंसिरमा मतदान हुँदैछ । मकवानपुरको १०२ वट वडामध्ये हेटौंडा–१२ मा मात्रै उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् ।

उपनिर्वाचनको तयारी पूरा भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । वडाको सुरक्षा व्यवस्था कडा बनाइएको उनले जानकारी दिए । १२ नम्बर वडालाई आज शनिवार रातिबाट शिल गरिने प्रजिअ चिलुवालले बताए ।

‘रातिदेखि १६ मंसिर मतदान कार्यको समय अवधिभर बाहिरी व्यक्तिहरुलाई प्रवेश दिइने छैन् । ८ वटा सुरक्षा चेक प्वान्ट बनाएर वडालाई शिल गर्दैछौं,’ उनले भने, ‘सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकि राखिएको छैन् ।’ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीन तहमा सुरक्षा दिने प्रजिअ चिलुवालले बताए । ८ वटा सुरक्षा चेक प्वाइन्टमा जनपथ र सशस्त्र प्रहरी खटिएका छन् । आवश्यकताअनुसार थप दुई वटा सुरक्षा चेक प्वाइन्ट बढाइने उनले बताए । वडाको भित्री सुरक्षामा नेपाली सेनाले निगरानी गरिराखेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उपनिर्वाचनलाई लक्षित गर्दै १२ नम्बर वडामा तीन दिनसम्म मदिराजन्य तथा नशालुपदार्थको बिक्रिवितरण, सेवनमा रोक लगाएको छ । शुक्रबारबाट १६ मंसिर दिउँस मतदानकार्य सम्पन्न नभएसम्म उक्त कार्यमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले जानकारी दिए । यस्तै, दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी