ललितपुरको गोदावरी नगरपालिका अन्तर्गतका १४ वटै वडामा खेती गरिँदै आएको खेतबारीको ५ सय ४८ वटा माटोको नमुना माटो तथा मल परीक्षण प्रयोगशालाका विशेषज्ञबाट परीक्षण गरिएको छ ।

किसानले जग्गाको माटोको अवस्था कस्तो छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन अल्पकालन र दीर्घकालिन योजना बनाउन थालेको कृषि शाखा प्रमुख सुवास खनालले बताए ।

दिगो कृषि उत्पादनका लागि नगर क्षेत्रभित्रको माटो सुधार गर्दै माटोको गुणस्तर अनुसार उत्पादन क्षेत्रका रुपमा विकास गरिने बताइएको छ । त्यस्तै, माटो परीक्षण गरिसकेपछि किसानलाई माटो स्वस्थता प्रतिवेदन संगै विज्ञको सुझाव अनुसार निःशुल्क कृषि चुन वितरण गर्न लागिएको खनालले बताए ।

विगतका वर्षदेखि नै नगरपालिकाले माटो परीक्षण गरि कृषि चुन वितरण गर्दै आएको छ ।

माटोमा अम्लियपन निकै बढ्दै र प्रांगारिक पदार्थ घट्दै गएको पाइएपछि नगरपालिकाले हरेक वर्ष यस्तो निःशुल्क सेवा दिँदै आएको छ । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटासयुक्त मलको कमी हुँदा माटोको सूक्ष्म तत्वसमेत नाश हुदै जाने भएकोले माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्यपदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान शाखा प्रमुख खनाले बताए ।

माटो जाँचबाट किसानको बारीमा फस्पोरस, नाइट्रोजन, पोटास लगायत माटोको उत्पादकत्वको अवस्थाबारे जानकारी दिएर त्यही अनुसारको मलको प्रयोग गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी